बर्दिबास–जयनगर रेलमार्ग निर्माणको काम तिव्र गतिमा

841
views

जनकपुरधाम । भारतको जयनगरदेखि नेपालको बर्दिबाससम्मको ६९ किलोमिटर ब्रोडगेज रेलमार्गको लिक निर्माण कार्य तिव्र गतिमा सुरु भएको छ । पहिलो चरणमा भारतको जयनगरदेखि धनुषाको कुर्थासम्म ३२ किलोमिटर रेल संचालन गर्न रेलमार्गमा स्लिपर, ब्लास्ट र रेल ओछ्याउने काम भइरहेको हो ।

भारत सरकारको सात अर्ब २० करोड आर्थिक सहयोगमा सुरु भएको परियोजना अन्तर्गत अक्टोबरसम्ममा सिभिल कन्सट्रक्सनको सम्पूर्ण काम पुरा हुने छ । सुरुवातमा भारत सरकारले रेलमार्ग निर्माणका लागि पाँच अर्ब ३९ करोड सहयोग गरे पनि पछि त्यो रकम परिमार्जित भएर वृद्धि भएको हो ।

नेपाल पक्षमा वैदेहीदेखि खजुरीसम्मको मार्गमा हाल ब्लाष्ट बिछाएर स्लीपर र रेल राख्ने काम भइरहेको नेपाल रेलवे जनकपुरका इञ्जिनीयर तथा साइट प्रमुख विनोदकुमार ओझाले बताए । हालसम्ममा २ किलोमिटरमा स्लीपरको काम पुरा भइसकेको उनले जानकारी दिए ।

सन् २०१७ जुनसम्ममा जयनगर–जनकपुरसम्म रेल सञ्चालन गर्ने लक्ष्य लिएको नेपाल सरकार रेलवे विभागको कमजोर उपस्थितिले सञ्चालनमा समस्या ल्याएसँगै ठेकेदारलाई मार्च २०१८ सम्मका लागि म्याद थप गरिएको इरकण इण्टरनेशनलका साइट इञ्जिनीयर मोलु रामले जानकारी दिए ।