सातै प्रदेशसभा सदस्यको शपथग्रहण आज

694
views

इटहरी, ७ माघ । प्रदेश १ को अस्थायी राजधानी विराटनगरमा तोकिएपछि मुख्यमन्त्री र प्रदेश प्रमुखको कार्यालय व्यवस्थापनका साथै प्रदेशसभा सदस्यहरूको शपथग्रहणको तयारी र व्यवस्थापन गर्ने कार्य सम्पन्न भएको छ । प्रदेश १ का नवनियुक्त प्रमुख प्राडा गोविन्द सुब्बा शनिबार अस्थायी राजधानी विराटनगर आएर प्रादेशिक संरचनाको खोजी, तयारी र व्यवस्थापनको काममा भएको प्रगतिका बारेमा जानकारी लिनुभयो । शुक्रबार राष्ट्रपतिबाट शपथग्रहण लिएर विराटनगर आउनुभएका प्रदेश प्रमुख प्राडा सुब्बाले आफ्नो जिम्मेबारी सम्हाल्ने क्रममा पूर्वाञ्चलका क्षेत्रीय प्रशासक राजेश्वरमान सिंह, मोरङ जिल्लाका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यलगायतका पदाधिकारीसँग समन्वय गरेर प्रारम्भिक काम थाल्नुभएको छ ।
पूर्वाञ्चलका क्षेत्रीय प्रशासक सिंहले विराटनगरमा भएका क्षेत्रीय पशुनिर्देशनालयमा प्रदेश प्रमुख तथा क्षेत्रीय कृषि निर्देशनालयमा मुख्यमन्त्रीको कार्यालयको व्यवस्थापन गरिएको बताउनुभयो ।
प्रदेशसभा सदस्यहरूको आइतबार हुने शपथग्रहणका लागि विराटनगरमा रहेको वीरेन्द्र सभागृहको मर्मतसम्भार र तयारी गरी व्यवस्था मिलाइएको छ । त्यसैगरी प्रदेशसभा जिल्ला समन्वय समितिको सभाहलमा सञ्चालन गर्ने व्यवस्था मिलाइएको छ । त्यसैगरी प्रदेश सभामुख र उपसभामुखको सचिवालय पनि जिल्ला समन्वय समितिको कार्यालयमा नै व्यवस्था गरिने भएको छ । मोरङका प्रमुख जिल्ला अधिकारी आचार्यको अध्यक्षतामा विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीलगायत विभिन्न राजनीतिक दल र सामाजिक संस्थाका प्रतिनिधिसहित यसअघि बसेको बैठकले प्रदेशका मुख्यमन्त्री र प्रदेश प्रमुखको कार्यालयको टुङ्गो र अन्य व्यवस्थापन गर्ने निर्णय गरेको थियो ।

जनकपुरमा तयारी पूरा
प्रदेश २ को अस्थायी राजधानी जनकपुरमा प्रदेशसभा सदस्यहरूको आइतबार हुन लागेको शपथग्रहण कार्यक्रमको तयारी पूरा भएको छ ।
शपथग्रहणका लागि नवनियुक्त प्रदेश २ का प्रमुख रत्नेश्वरलाल कायस्थ आउनेलगायत सबै तयारी पूरा भएको धनुषाका प्रमुख जिल्ला अधिकारी दिलीप चापागाईले जानकारी दिनुभयो । उहाँका अनुसार प्रदेशसभा सदस्यहरूको शपथग्रहणको कार्यक्रम शैक्षिक तालिम केन्द्रको हलमा गर्ने भनिए पनि आवश्यक पूर्वाधार नभएकाले जनकपुर उद्योग वाणिज्य सङ्घको सभाहलमा शपथग्रहणको कार्यक्रम राखिएको जानकारी दिनुभयो ।  प्रमुख जिल्ला अधिकारी चापागाईका अनुसार प्रदेश प्रमुखको आवास तथा प्रदेशसभा बैठकको तयारी भइरहेको छ । प्रदेश प्रमुखको कार्यालय, आवास तथा सचिवालयका कर्मचारीहरूको आवासका लागि जनकपुर चुरोट कारखानाको विशिष्ट श्रेणीको कार्यालय तथा आवासको सरसफाइ तथा रङरोगनको कामकाज अन्तिम चरणमा पुगेको छ ।

जनकपुर चुरोट कारखानाका अध्यक्ष र महाप्रबन्धक बस्ने आवास व्यवस्थित रहेको छ । त्यसैगरी दुई जना नायब महाप्रबन्धक बस्ने आवास पनि व्यवस्थित छ । त्यसैगरी प्रदेशसभाको बैठकका लागि जनकपुर उपमहानगरपालिकाको १२ कुवारामपुरमा रहेको शैक्षिक तालिम केन्द्रको भवनको सरसफाइ तथा रङरोगनको कामकाज अन्तिम चरणमा रहेको सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय धनुषाका प्रमुख गङ्गाप्रसाद यादवले जानकारी दिनुभयो ।

लामो समयदेखि जचुकालिका आवास गृह तथा कार्यालय बन्द भएका कारण तयारी पूरा गर्न समय लागेको बताइएको छ । सरसफाइ र रङरोगन गरिएपछि प्रदेशसभाका सदस्यहरूको आवासदेखि उच्च श्रेणीका कर्मचारीहरूलाई बस्नका लागि धेरै सङ्ख्यामा आवास रहेको उहाँको भनाइ छ । यादवका अनुसार सबै आवास तथा भवन चुस्त र दुरुस्त भएपछि प्रदेशको मन्त्रालय तथा मन्त्रीहरूको आवास जचुकालिभित्र राख्ने तयारी रहेको छ । सरकारले जनकपुरलाई प्रदेश २ को अस्थायी राजधानी घोषणा गरेपछि कामकाजले तीव्रता पाएको हो ।

कोइरालाद्वारा पदभार ग्रहण
प्रदेश ३ का प्रदेश प्रमुख अनुराधा कोइरालाले प्रदेशको अस्थायी मुकाम हेटौँडामा पदभार ग्रहण गर्नुभएको छ । प्रदेश प्रमुखको हेटौँडा उपमहानगरपालिका–१० स्थित कार्यालयमा शनिबार आयोजित कार्यक्रममा पदभार ग्रहण गर्नुभएको हो । प्रदेश प्रमुखको पदभार ग्रहणपछि आयोजित कार्यक्रममा उहाँले देश विकासमा जुट्न सबैलाई आग्रह गर्नुभयो । मुलुक सङ्घीय संरचनामा गएपछिको कोइराला पहिलो प्रदेश प्रमुख महिला हुनुहुन्छ ।
कोइरालाको स्वागत गर्न क्षेत्रीय प्रशासन कार्यालयका क्षेत्रीय प्रशासक रेश्मीराज पाण्डे, पृतनापति, प्रदेश प्रहरी प्रमुखलगायत प्रशासक सुरक्षा अधिकारी, प्रतिनिधिसभा र प्रदेशसभा सांसद, स्थानीय तहका पदाधिकारी, उद्योगी, व्यवसायी र सर्वसाधारणले स्वागत गर्नुभएको थियो । प्रदेश प्रमुख कोइराला शनिबार प्रदेशको अस्थायी मुकाम हेटौँडा आएर पदभार ग्रहण गरेसँगै सरकारले तोकेको अस्थायी मुकामले औपचारिकता पाएको छ ।

प्रदेशसभा सदस्यहरूको तयारी पूरा
प्रदेश प्रमुख कोइरालाले प्रदेशसभाका ज्येष्ठ सदस्यलाई र ज्येष्ठ सदस्यले प्रदेशसभाका सदस्यलाई प्रदेशसभा संसद्मा आइतबार शपथग्रहण गराउने कार्यक्रम तय भएको छ ।
प्रदेशसभाको संसद् भवन र संसद् सचिवालय हाल क्षेत्रीय शिक्षा निर्देशनालय रहेको भवनमा रहेको छ ।
यस्तै जिल्ला समन्वय समितिको कार्यालयमा मुख्यमन्त्रीको कार्यालय रहनेछ । प्रदेश मन्त्रिपषिद्को कार्यालयका प्रमुख सचिव पाण्डेका अनुसार प्रदेशसभाका सभामुख र उपसभामुखको कार्यालय डिभिजन सडक कार्यालयको कम्प्लेक्समा रहने छ । उन्नाइसभन्दा बढी क्षेत्रीय कार्यालय रहेको मकवानपुरमा ती क्षेत्रीय कार्यालयमा प्रदेश मन्त्रालय सञ्चालन गरिने भएको छ । प्रदेश ३ मा एक सय १० जना प्रदेशसभा सदस्य छन् । हेटौँडालाई प्रदेश ३ को अस्थायी मुकाम तोकिएसँगै मुकामका लागि आवश्यक कार्यालय र पूर्वाधारको तयारीको चटारोमा प्रशासक र सुरक्षा निकाय छन् ।

प्रदेश प्रमुख कुँवर पोखरामा
प्रदेश सभासदहरू आइतबार हुने शपथका लागि प्रदेश ४ का प्रमुख बाबुराम कुँवर शनिबार पोखरा आउनुभएको छ । उहाँलाई पोखरा विमानस्थलमा भव्य स्वागत गरिएको छ । उहाँलाई क्षेत्रीय प्रशासक लक्ष्मणप्रसाद अर्याल, प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारी, पश्चिम पृतनापति देवेन्द्रबहादुर मेधासी, एआईजी कमलसिंह बम, पोखरा लेखनाथ महानगर प्रमुख मानबहादुर जिसी, जिल्ला समन्वय समिति प्रमुख बैनबहादुर अधिकारी क्षेत्री, विभिन्न सरकारी कार्यालयका प्रमुखलगायतले स्वागत गर्नुभयो ।
प्रदेश प्रमुख बाबुराम कुँवरले प्रदेशसभाको गठन पहिलो प्राथमिकतामा पर्ने बताउनुभएको छ । विमानस्थलमा पत्रकारसँग कुरा गर्दै प्रदेश प्रमुख कुँवरले प्रदेशसभाको गठन पहिलो जिम्मेवारी भएको बताउनुभयो ।  उहाँले आइतबार नै ज्येष्ठ सदस्यलाई शपथ गराएपछि अन्य प्रदेशसभा सदस्यको शपथ
गराइने बताउनुभयो । प्रदेश ४ का प्रमुख कुँवरले आइतबार शहीदचोकस्थित प्रदेश प्रमुखको कार्यालयमा पदभार ग्रहण गर्नुहुनेछ । उहाँको पदभारसँगै ज्येष्ठ सदस्य पद तथा गोपनीयतको शपथ गराएपछि ज्येष्ठ सदस्य तथा अन्य सदस्यलाई नदीपुरस्थित नगर प्रशिक्षण केन्द्रमा रहेको प्रदेशसभा हलमा शपथ गराउने कार्यक्रम तय भएको छ । प्रदेश ४ का ज्येष्ठ सदस्य जनकलाल श्रेष्ठ ६७ वर्षका हुनुहुन्छ । उहाँ एमाले नवलपुर क्षेत्र २ (ख) बाट प्रदेशसभा सदस्यमा निर्वा्चित हुनुभएको हो ।

रूपन्देहीमा प्रदेश भवनको तयारी
सरकारले प्रदेश ५ को अस्थायी मुकाम रूपन्देहीलाई बनाउने घोषणा गरेपछि प्रदेश प्रमुख र मन्त्रालय रहने भवनको तयारी गरिएको छ ।
प्रदेश प्रमुखको कार्यालय, मुख्यमन्त्रीको कार्यालय र विभिन्न मन्त्रालयसँगै मन्त्री बस्ने ठाउँको पनि तयारी गरिएको प्रमुख जिल्ला अधिकारी हरिप्रसाद मैनालीले जानकारी दिनुभयो । तत्कालका लागि प्रदेश प्रमुखको कार्यालय उच्च अदालतको बुटवल इजलासनजिकै व्यवस्थापन गर्ने तयारी गरिएको र निवासका रूपमा तत्कालका लागि डिभिजन सडक कार्यालयको गेस्टहाउसमा तयारी गरिएको मैनालीले बताउनुभयो ।
प्रदेश प्रमुख उमाकान्त झा शनिबार अपराह्न बुटबल आइपुग्नुभएको छ । आइतबार उहाँले तयारी गरिएका भवनहरूको समेत निरीक्षण गर्ने कार्यक्रम छ । सीप विकास तालिम केन्द्रको भवनलाई पनि प्रदेश प्रमुखको निवासका रूपमा प्रयोग गर्न सकिने गरी तयारी गरिएको छ । प्रदेश प्रमुखको कार्यालय भने रूपन्देही व्यापार सङ्घको भवनमा रहनेछ ।

जिल्ला प्रशासन कार्यालय र भवन डिभिजन कार्यालय रूपन्देहीले उपयुक्त भवन छनोट गरी कार्यालय व्यवस्थापनको तयारी अगाडि बढाएका हुन् । भवन डिभिजन रूपन्देहीका प्रमुख सुरेश ठाकुरले प्रदेशसभाका लागि बुटवल उद्योग वाणिज्य सङ्घको सचिवालयलाई प्रयोग गर्ने तयारी गरिएको बताउनुभयो ।
प्रदेश ५ का प्रदेश सदस्यहरूको शपथग्रहण आइतबार गराइने भएको छ । आइतबार एक समारोहबीच प्रदेश प्रमुख उमाकान्त झाले शपथग्रहण गराउनुहुनेछ ।

प्रदेश सांसदलाई शपथ गराइँदै
 प्रदेश निर्वाचन भएको झन्डै दुई महिनापछि आइतबार पद तथा गोपनीयताको शपथग्रहण गर्न प्रदेशसभाका सदस्यहरू सुर्खेत आउन थालेका छन् । प्रदेश ६ को अस्थायी राजधानी सुर्खेतमा प्रदेश प्रमुख दुर्गाकेशर खनालले आइतबार बिहान ११ बजे प्रदेश संसदहरूलाई पद तथा गोपनीयताको शपथग्रहण गराउने कार्यक्रम तय भएको छ । जिल्ला समन्वय समिति सुर्खेतको सभाहलमा प्रदेश निर्वाचनबाट प्रत्यक्ष तथा समानुपातिक निर्वा्चित संसदहरूलाई शपथग्रहण गराइने क्षेत्रीय प्रशासन कार्यालय सुर्खेतले जनाएको छ । क्षेत्रीय प्रशासक सुरेश प्रधानले शपथ ग्रहणका लागि प्रदेशका सबै सांसदलाई जानकारी गराइसकेको बताउनुभयो ।

व्यवस्थापिका संसद्को बैठकका लागि शैक्षिक तालिम केन्द्रको सभा हललाई तयार गरिएको क्षेत्रीय प्रशासक प्रधानले बताउनुभयो । शपथग्रहण गरेको २० दिनपछि व्यवस्थापिक संसद् बैठक बस्ने भएकाले शैक्षिक तालिम केन्द्रको मर्मत सम्भार गरिसक्ने उहाँको भनाइ छ ।  मर्मतको काम नसकिएको अवस्थामा पहिलो बैठक क्षेत्रीय अनुगमन तथा सुपरिवेक्षण कार्यालयको सभा हलमा बस्ने गरी विकल्प राखिएको क्षेत्रीय प्रशासक प्रधानले बताउनुभयो ।

यसैगरी प्रदेश प्रमुखको कार्यालयले शनिबार साँझ एक सूचना प्रकाशित गरी प्रदेशसभाको प्रतिनिधित्व गर्ने सदस्यलाई उपस्थित हुन आह्वान गरेको छ । सहायक प्रमुख जिल्ला अधिकारी गङ्गाप्रसाद न्यौपानेले जारी गर्नुभएको सूचनामा नेपालको संविधान तथा प्रदेशसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७५ बमोजिम प्रदेश नं. ६ को प्रदेशसभामा प्रतिनिधित्व गर्ने सम्पूर्ण प्रतिनिधिलाई आइतबार बिहान ११ बजे जिल्ला समन्वय समिति सुर्खेतको हलमा शपथ खुवाउने कार्यक्रम रहेको जानकारी गराइएको छ ।
यस्तै क्षेत्रीय वन तालिम केन्द्रको भवनमा ६ नं. प्रदेश प्रमुखको कार्यालय तोकिएको छ ।

धनगढीमा शपथग्रहणको तयारी
हाम्रा धनगढी समाचारदाता प्रकाशविक्रम शाहका अनुसार प्रदेश ७ का प्रमुख मोहनराज मल्लले प्रदेश सांसदहरूको पद तथा गोपनीयताको शपथग्रहणको तयारी अन्तिम चरणमा पुगेको बताउनुभएको छ ।
नेपालको संविधान तथा प्रदेशसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७४ बमोजिम प्रदेशसभामा प्रतिनिधित्व गर्ने सम्पूर्ण सदस्यले श्पथग्रहण गर्ने आइतबार बिहान ११ बजे अस्थायी सदरमुकाम धनगढीस्थित जिल्ला समन्वय समिति कैलालीको सभाहलमा सांसदहरूको शपथ गर्ने तयारी भइरहेको उहाँले स्पष्ट गर्नुभयो । जिल्ला समन्वय समितिमै प्रदेशसभाको पहिलो बैठक बस्ने तयारी पनि भइरहेको छ । समानुपातिकतर्फका धेरै सांसद काठमाडौँबाट आउन कठिनाइ हुने जानकारी पनि आइरहेको सन्दर्भमा आइतबारको शपथ छुटेका प्रदेश सांसदलाई राष्ट्रियसभाको चुनावअघि नै शपथ गराइने व्यवस्था मिलाइनेछ भन्नुभयो ।
प्रदेश प्रमुखले ज्येष्ठ सदस्यलाई र ज्येष्ठ सदस्यले अरू सांसदलाई शपथ गराउने कार्यक्रम तय गरिएको छ । ७ नम्बर प्रदेशको संसद्मा ३२ प्रत्यक्ष र २१ समानुपातिक गरेर ५३ जना सदस्य छन् ।

प्रदेश ७ को अस्थायी राजधानी तोकिएसँगै धनगढीमा प्रदेश प्रमुखको कार्यालय, आवास तथा प्रदेश संसद भवनको टुङ्गो लगाइएको छ । प्रदेश ७ प्रमुखको कार्यालय उत्तरबेहडीस्थित घरेलु तथा साना उद्योग कार्यालयको नया“ भवनलाई तोकिएको छ । त्यस्तै प्रदेश प्रमुखको आवास क्षेत्रीय वन निर्देशनालयको भवन तोकिएको छ । क्षेत्रीय वन निर्देशनालय रहेको क्षेत्र सुरक्षाको दृष्टिकोणले उपयुक्त रहेकाले प्रदेश प्रमुखको आवासगृहका रूपमा बनाइएको क्षेत्रीय प्रशासक पौडेलले बताउनुभयो ।