मुग्लिन–नारायणगढ सडक विस्तारका लागि चौंथो पटक समय थप्ने तयारी

815
views

काठमाडौं ९ माघ । मुग्लिन–नारायणगढ सडक विस्तारको काम निर्धारित समयमा पूरा नभएपछि चौथो पटक समय थप्नुपर्ने भएको छ । सडक विस्तारको काम हाल ७१ प्रतिशत मात्रै पूरा भएकाले अझै एक पटक सयम थप्नुपर्ने भएको हो । आगामी फेब्रुअरीमा चौथो पटक समय थपेर बाँकी काम गराउने तयारी सडक विभागले गरिरहेको छ ।

सडक निर्माणको ठेक्का लागेका दुई महिनामै (२०७२ वैशाखमा) गएको भूकम्प, सोही वर्षमा भएको नाकाबन्दी, निर्माण सामग्रीको अभाव, अन्तरनिकाय समन्वय अभाव, प्रतिकूल मौसमलगायत कारण समयमा काम पूरा हुन सकेको छैन। तीन पटकसम्म समय थप भइसकेको छ । समयमानै काम सम्पन्न हुन नसकेको र तोकिएको समयमा सन्तोषजनक काम नभइ दोस्रो पटक समय थप हुँदा दुई वटा ठेकेदारले ७५ लाख हर्जाना तिर्नुपरेको थियो ।

तीन वटा ठेकेदार कम्पनीमार्फत विभिन्न तीन खण्डमा सडक विस्तारको काम भइरहको छ तेस्रो पटकको सम्झौता अवधी सकिएका कारण सडक विभागले अगामी वैशाखभित्र काम सक्ने गरी चौथोपटक म्याद थप गर्ने तयारी गरिरहेको मुग्लिन–नारायणगढ सडक आयोजनाका सूचना अधिकारी इन्जिनियर शिव खनालले जानकारी दिए ।

७१ प्रतिशत प्रगति
विश्व बैंकको दुई अर्ब ९० करोड सहुलियत ऋणमा दुई लेनबाट चार लेनमा विस्तार भइरहेको यो सडक सम्पन्न गर्नुपर्ने तेस्रो पटकको समय सकिनै लाग्दा ७१ दशमलव पाँच प्रतिशत प्रगति देखिएको छ । यो सडक विस्तारमा हालसम्म १४ दशमलव पाँच किमि सडक कालोपत्रे भएको छ । कुल ३६ किमिको यो सडकको ३३ दशमलव दुई किमि मात्रै ठेक्का लागेको छ ।

यो सडक विस्तारमा अझै आठ सय मिटर बाँकी छ । १६ किलो भन्ने स्थानमा तीन सय मिटर, घुमाउनेमा दुई सय मिटर र चेपाङ डाँडामा तीन सय मिटर कटिङ गर्ने बाँकी छ । सडक कालोपत्रे गर्न पनि सवारी रोकेरै गर्दा छिटो र गुणस्तरीय हुने भएकोले पनि बाध्य भएर दिउँसो बन्द गर्नुपरेको आयोजनाले बताएको छ।

सडक विस्तारको उद्देश्य
काठमाडौं सहरलाई मुग्लिन–नारायणघाट हुँदै वीरगन्जसम्म पुग्ने यो सडकलाई राष्ट्रिय राजमार्ग तथा व्यापारिक मार्गको रूपमा हेरिन्छ । यसको सुरुआत प्रारम्भमा कृषि सडकको रूपमा रहेको थियो । विस्तारै अत्यावश्यक इन्धन, औद्योगिक कच्चा पदार्थ, खाद्यान्न, लत्ताकपडा, तेस्रो मुलुकबाट आउने विभिन्न प्रकारका सामान भित्र्याउने सडकका रूपमा यसलाई प्रयोग हुन थाल्यो । सहरी जनसंख्याको चापले यो बाटो भएर ओहोरदोहोर गर्नुपर्ने तथा दैनिक जीवनयापनको उपयुक्त मार्ग बन्दै गयो । काठमाडौंसँगको लाइफलाइन भएकोले सरकारले यसलाई विस्तार गरेर चार लेनको बनाउन थालेको हो। यो सडक निर्माण पश्चात ३६ किलोमिटरको यो सडक पार गर्न जम्मा ३५ मिनेट लाग्ने सडक विभागको दाबी छ ।