मैलुङ–स्याफ्रुबेंसी ट्रयाक खुल्यो

563
views

रसुवा, १४ माघ । चीन र भारत जोड्ने सबैभन्दा छोटो मार्गमा सवारी साधन चल्न सक्ने भएका छन् । नेपाली सेनाले निर्माण गरिरहेको मैलुङदेखि स्याफ्रुसम्मको १७ किलोमिटर सडकको ट्रयाक खोलेपछि उक्त बाटो खुला भएको हो । उक्त सडक डबल लेनको हो । सडक निर्माण सम्पन्न हुन ६ सय मिटर मात्र बाँकी छ ।

भौगोलिक अवस्था हेरी ९ देखि ११ मिटर सडक चौडा बनाइएको छ । सडक निर्माण सम्पन्न भइसकेपछि राष्ट्रिय गौरवको आयोजना रहेको गल्छी–बेत्रावती– मैलुङ–स्याफ्रुबेंसी सडकमा २०७५ वैशाखदेखि गाडी गुड्नेछ ।

काठमाडौंबाट चीन जोड्ने सबैभन्दा छोटो मार्गको रूपमा मैलुङ– स्याफ्रुबेंसी सडक हुनेछ । २०७५ को नयाँ वर्षमा डबल लेनको १७ किलोमिटर सडक निर्माण सम्पन्न गरी नेपाल सरकारलाई हस्तान्तरण गरिने नेपाली सेनाको विकास निर्माण निर्देशनालयका निर्देशक रामधर सिंहले बताए ।

नेपाली सेनाले मैलुङ, गुम्चेत, सोले, त्रिशूली दोभान र स्याफ्रुको ५ ठाउँमा क्याप्प राखेर ८ स्थानबाट काम गरीरहेको छ । १ सय ९० जना सेना र ३ सय ५० जना सिभिल कामदार परिचालन गरेर सडक निर्माण कार्यलाई युद्धस्तरमा अगाडि बढाइएको मैलुङ–स्याफ्रुबेंसी सडक निर्माण कार्यादलका मेजर सञ्जय केसीले बताए ।

गल्छी, बेत्रावती, मैलुङ, स्याफ्रुबेंसी रसुवागढी सडक बनेपछि उत्तर (चीनको केरुङ) र (दक्षिण (भारतको ठोरी) जोडिने सबैभन्दा छोटो त्रिदेशीय सडक हुनेछ । अहिले सञ्चालनमा रहेको पासाङल्हामुमार्गको बेत्रावती, कालिकास्थान, धुन्चे–स्याफ्रुबेंसी सडकभन्दा बेत्रावती, मैलुङ, स्याफ्रुबेंसी सडक २४ किमि छोटो छ ।

चीन सरकारले सन् २०२० सम्ममा सिगात्सेबाट केरुङसम्म रेल ल्याउने गरी तयारी गरेको छ । सेनाबाट सडक हस्तान्तरण गरेपछि सडक विभागले कालोपत्रेको काम अघि बढाउनेछ । सडक निर्माण पूरा भएसँगै रसुवागढीदेखि धादिङको गल्छीसम्मको दूरी ८४ किलोमिटरको हुनेछ ।

गल्छीबाट काठमाडौंसम्मको दूरी ५० किलोमिटर छ । काठमाडौंबाट चीनको केरुङ करिब ४ घण्टामा पुग्न सकिनेछ । पर्साको ठोरीबाट चितवनको भण्डारा–गल्छी हुँदै त्रिशूली बेत्रावती–मैलुङ–स्याफ्रबेंसी मार्ग सञ्चालन हुँदा चीन र भारतबीचको दूरी दुई सय ३० किलोमिटर हुनेछ ।