बैद्य माओवादीका नेता कार्यकर्ता शहर छोड्दै, गाउँ छिर्दै

960
views

काठमाडौं । नयाँ जनवादी क्रान्तिको तयारी गर्ने उद्घोष गरिरहेको नेकपा (क्रान्तिकारी माओवादी) अहिले संगठन तथा जनपरिचालन अभियान लिएर गाउँ गाउँमा पुगेको छ । देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपाल मार्फत् निर्वाचनको क्रान्तिकारी उपयोग गरेको क्रान्तिकारी माओवादीका नेता कार्यकर्ताहरु यतिखेर फेरि जनताको घरघरमा पुग्न थालेका छन् । संसदीय व्यवस्था, सत्ता र संविधानको विरोध एवम् भण्डाफोर गर्दै आएको यो पार्टीले नयाँ जनवादी क्रान्ति सम्पन्न गर्नका लागि आवश्यक पर्ने तीन जादुगरी हतियार क्रान्तिकारी पार्टी, क्रान्तिकारी जनसेना र क्रान्तिकारी संयुक्त मोर्चाको निर्माणलाई गाउँतहसम्म विस्तार गर्ने र आत्मगत शक्तिलाई सुदृढ गर्ने उद्देश्यलाई मुख्य बनाएर अभियान लिएर जनताको घर घरमा पुगिरहेको छ ।

पार्टीका स्थायी समिति, पोलिटब्यूरो, केन्द्रीय समिति सहित देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपाल, जबस, मोर्चाका सबै नेता कार्यकर्ताहरु अहिले अभियान लिएर जनताको घरदैलोमा पुगिरहेका छन् । संसदीय व्यवस्था, सत्ता र संविधानको भण्डाफोर गर्ने, राष्ट्रियता, जनतन्त्र र जनजीविकाका समस्याहरुलाई स्थानीय विशिष्टतामा सुत्रबद्ध गरी स्थानीय निकायमा ज्ञापन पत्र बुझाउने, जनसहभागितासहित ती मागहरु पूरा गराउन संघर्ष गर्ने, भ्रष्टाचारी, कमिसनखोरी, कालाबजारी तथा जनविरोधी विदेशी दलाल तत्वहरुको खोजी गरी जनकारबाही गर्ने लगायतका कार्यक्रमहरु तय गरी क्रान्तिकारी माओवादीको सिंगो पंक्ति संगठन र संघर्षको योजनामा जुटेको छ ।

वर्गदृष्टिलाई प्राप्त सातवटै प्रदेशका समाचार अनुसार पछिल्लो हप्ता १ नंं प्रदेशको उदयपुर जिल्लामा तीन महिने संगठन तथा जनपरिचालन अभियान संचालनका लागि हालै सम्पन्न जिल्ला समितिको बैठकले चारवटा अभियान टोली निर्माण गरेको छ । उक्त प्रदेशमा क्रियाशिल किरात राष्ट्रिय मुक्ति मोर्चा, लिम्बुवान राष्ट्रिय मुक्ति मोर्चाका केन्द्रीय बैठकहरु राखेर तीन महिने अभियानमा परिचालन गर्ने निर्णय गरिएका छन् । यस बीचमा उदयपुर, ओखलढुंगा, खोटाङ, भोजपुर, सुनसरी, मोरङ, झापा, तेह«थुम लगायतका जिल्लामा बैठक र प्रशिक्षण सम्पन्न भएका छन् । प्राप्त समाचार अनुसार ओखलढुंगामा अभियान संचालनका लागि पाँचवटा अभियान टोली निर्माण गरिएको छ । त्यसैगरी सुनसरी जिल्लामा तीनवटा अभियान टोली बनाइएको छ ।

त्यसैगरी २ नं. प्रदेशमा मौसमको प्रतिकूलताको बाबजुद सप्तरी र सिरहा, धनुषा र महोत्तरीमा बैठक प्रशिक्षण सम्पन्न भएको छ भने रौतहटको १४ र १५ माघमा, बारा पर्सामा १६ र १७ माघमा बैठक प्रशिक्षण सम्पन्न गर्ने समय निश्चित गरिएको देजमो २ नं. प्रदेश संयोजक कमल चौधरीले जानकारी दिनुभएको छ ।

यता ३ नं. प्रदेशका सबै जिल्लामा पार्टी र देजमोका बैठक सम्पन्न भएको पार्टी प्रदेश सचिव सागरले बताउनु भएको छ । उहाँका अनुसार काभ्रे जिल्लामा माघ ७ र ८ गते बैठक तथा प्रशिक्षण सम्पन्न भएको छ । सो प्रशिक्षणलाई ३ नं. प्रदेश सचिव सागर, मोर्चाका संयोजक पवनमान श्रेष्ठ र पार्टी केस हिमकर्णलगायतले प्रशिक्षण दिनुभएको थियो । बैठकले अभियान संचालनका लागि चार वटा टोली निर्माण गरी अभियानमा जुटेको छ । त्यसैगरी काभ्रे देजमोको पनि बैठक सम्पन्न भएको छ । मोर्चाका प्रदेश संयोजक श्रेष्ठको विशेष उपस्थितिमा सम्पन्न बैठकले अभियानलाई प्रभावकारी बनाउन मोर्चाले विशेष भूमिका खेल्ने र स्थानीय तहसम्म मोर्चाका कमिटिहरु विस्तार गर्ने निर्णय गरेको छ । त्यसैगरी ११ माघमा मकवानपुर जिल्ला पार्टीको बैठक प्रशिक्षण सम्पन्न भएको छ । प्रशिक्षण तथा बैठक प्रदेश पार्टी सचिव सागरको विशेष उपस्थितिमा सम्पन्न भएको थियो ।

यता ४ नं. प्रदेशमा जिल्ला पार्टीहरुका बैठक सम्पन्न भइसकेका छन् । अभियानलाई विशेषगरी गोर्खा, कास्की, तनहुँ, नवलपुर, पर्वत र बाग्लुङमा केन्द्रित गरी संचालन गरिएको छ ।

त्यसैगरी ५ नं. प्रदेशको गुल्मीमा बैठक प्रशिक्षण सम्पन्न भएको छ भने माओवादी केन्द्र र एमाले परित्याग गरी दर्जनौ नेता कार्यकर्ताहरु क्रान्तिकारी माओवादीमा प्रवेश गरेको समाचार प्राप्त भएको छ । देजमो गुल्मी संयोजक केशव अविरलले दिएको जानकारी अनुसार माओवादी केन्द्रबाट लेखबहादुर श्रीस, यादव विक, हिममान विक, घनश्याम विक, मानबहादुर विक, राहुल विक, उमा सुनार, खिमा सुनार, गोमा सुनारलगायत २० जना र एमालेबाट विष्णु निधि, युवराज विकलगायत पाँच जना क्रान्तिकारी माओवादीमा प्रवेश गरेका छन् । जिल्लाको बैठक तथा प्रशिक्षण कार्यक्रममा पार्टी प्रवेश गर्नेहरुलाई पार्टी पोलिटब्युरो सदस्य तथा प्रदेश सचिव प्रेम सुवेदीले अवीर लगाएर स्वागत गर्नुभएको थियो । त्यसैगरी बाँके, बर्दियाको संयुक्त रुपमा प्रशिक्षण र बैठक सम्पन्न भएको छ । उक्त संयुक्त प्रशिक्षणमा पार्टी स्थायी समिति सदस्य परि थापा, पोलिटब्यूरो सदस्य प्रेम सुवेदी, केस शिशिर र भुपेन्द्र न्यौपाने लगायतको उपस्थिति रहेको थियो ।
६ नं. प्रदेशका जिल्लाहरुका जिल्ला पार्टीहरुका बैठक र प्रशिक्षणहरु भइरहेका छन् । प्राप्त जानकारी अनुसार दैलेखको बैठक प्रशिक्षण सम्पन्न भएको छ । सो प्रशिक्षणलाई प्रमुख अतिथी तथा प्रदेश पार्टीका का.व.सचिव सिपी शर्माले सम्बोधन गर्नुभएको थियो । त्यसैगरी सुर्खेत जिल्लामा पनि बैठक प्रशिक्षण सम्पन्न भएको छ ।

त्यसैगरी ७ नं. प्रदेशको कैलाली, कंचनपुरमा अभियान संचालन भइरहेको छ भने अन्य पहाडी जिल्लाहरुमा हिमपातका कारण अभियान संचालनमा अवरोध पैदा भएको प्रदेश सचिव अटलले जानकारी दिनु भएको छ । उहाँले दिएको जानकारी अनुसार १५ माघमा मुस्लीम मुक्ति मोर्चाको केन्द्रीय समितिको बैठक बुटवलमा राखिएको छ । बैठकले मोर्चामा आवद्ध नेता कार्यकर्ताहरुलाई अभियानमा परिचालन गर्ने मोर्चाका फ्र्याक्सन इन्चार्ज समेत रहनु भएका नेता अटलले बताउनुभयो ।