छपकैयादेखि घण्टाघरसम्म भारत विरुद्ध मार्चपास

878
views

विरगञ्ज । भारतीय पक्षबाट अतिक्रमित भूमि छपकैयाको निरीक्षण गर्न तथा भारतको विस्तारवादी हस्तक्षेपकारी कदमको विरोधमा प्रदर्शन तथा खबरदारी गर्न गएको नेकपा (क्रान्तिकारी माओवादी)का युवा र विध्यार्थी संगठनको संयुक्त टोलीले पर्सा विरगंजको छपकैयादेखि घण्टाघरसम्म मार्चपास गरेको छ । अखिल (क्रान्तिकारी)का अध्यक्ष सेवन्त राज भण्डारीले सीमास्थल छपकैयामा भारतीय विस्तारवादी शासकहरुको दादागिरीको कडा शब्दमा निन्दा एवम् भत्र्सना गरेका थिए ।

बर्षौैदेखि भोगचलन गरिरहेको भूमि गुमाएका नेपाली सीमाबासीहरुसँगको भेटघाटपछि टोलीले छपकैयादेखि घण्टाघरसम्म मार्चपास गरेको क्रान्तिकारीका अध्यक्ष सेवन्तराज भण्डारीले जानकारी दिए । उनका अनुसार करिब ३ सयको संख्यामा रहेको टोलीले ‘अतिक्रमित भूमि फिर्ता गर, भारतीय विस्तारवाद र उसका नेपाली दलालहरु–मूर्दावाद, राष्ट्रिय स्वाधीनता जिन्दावाद, राष्ट्रघाती दलाल शासकहरु मूर्दावाद’ लगायतका नारा लगाउँदै विरगंजको घण्टाघरमा कोणसभाको आयोजना गरेको थियो ।

कोणसभालाई क्रान्तिकारी युवा लिग तथा अखिल (क्रान्तिकारी)का नेताहरुले सम्बोधन गरेका थिए । कार्यक्रममा नेपाली र भारतीय मिडियाहरुको बाक्लो उपस्थिति रहेको टोलीमा सहभागीहरुले बताए ।