लघु कथाः ‘सहिदको सम्झना’

सहिदहरूको सम्झनामा लेखिएको यो एउटा काल्पनिक लघु कथा

1732
views

उज्ज्वलको बुबा बेलायत सैनिकमा जागीरे थिए । त्यसैले, छोरालाई राम्रोसँग पढाउनको लागि उनीसँगै बेलायत लगेका थिए । कलेजको पढाईपछि उज्जवल माघ महिनाको दोस्रो साता नेपाल मूल घरमा आएको थियो । उ घर आएको भोलिपल्टै साथीहरू भेट्न गाउँ गयो । उ सबभन्दा पहिले गंगाको घरमा पुग्यो ।गंगा र अमर दाजु बहिनी थिए । सानै छँदा स्कुलमा उज्ज्वल, गंगा र अमर सँगसगै पढेका थिए । गंगाले उज्ज्वललाई दादा कहिले आउनु भएको यु. के. बाट ? “भन्दै कुर्सीमा बस्न आग्रह गरिन । त्यसपछि उज्ज्वल लामो सास फेर्दै कुर्सीमा बस्यो । उसले गाउँ, घरपरिवार सबैतिरको हालखबर सोध्दै गंगासँग गफ गर्दै थियो । यता बाबाले अमरको फोटोमा माल्यार्पण गर्दै धुपबाती बाल्दै हुनुहुन्थ्यो । कलेज जीवनमा अमर आन्दोलनमा परेर मारिएको थियो । त्यसैले उ एक वीर सहिद बनेको थियो । त्यो देखेर उज्ज्वलले पनि आँगनको फूलबारीबाट फूल टिपेर ल्यायो । उसले पनि अमरलाई सम्झन्दै फोटोमा श्रद्धापूर्बक पुष्पगुच्छाहरू चढायो ।

गंगाले चिया पकाउदै भनिन, “दादा, आज सहिद दिवस हो । काठमाडौको सहिद गेट लगायत देशभर आज शहिदहरूको सम्झनामा श्रद्धाञ्जली कार्यक्रम हुदैछ । हामीले पनि चोकमा आज कार्यक्रमको तय गरेका छौं । त्यसैले बाबा अलिक ब्यस्त हुनुहुन्छ, भरै बेल्का तिर गफ गर्न आउनोस है ? “ए तेसो भए त, म पनि कार्यक्रममा जान्छु नि “भन्दै बाबासँग कुराकानी गर्दै चिया पिए । उ पनि कार्यक्रममा जान तयार भयो । उनीहरू केही फूलका गुच्छा र बहिनी गंगाले उनेर बनाएको फूलको माला झोलामा बोकेर चोकतिर गए ।

नेपाल आमाका चार सहिदहरू जसले राणा शासन विरुद्ध लडेर प्रजातन्त्र प्राप्तिको लागि बलिदान गरेका थिए । उनीहरू नेपाल आमाका चार सपूतहरू हुन । कार्यक्रममा धर्मभक्त माथेमा, दशरथ चन्द, सुक्रराज शास्त्री र गंगालाल जोशीको फोटोहरू सजाएर राखिएका थिए । उनीहरूकै छेउमा नेपालको प्रथम सहिद लखन थापा मगर र अमरको पनि फोटो राखिएको थियो । कार्यक्रममा सरकारी निकाय र विभिन्न संघ, संस्थाहरूबाट विशिष्ट ब्यक्तित्वहरूको उपस्थिति थियो । सबैजना उभिएर सहिदहरूको सम्झनामा एक मिनेटको मौनधारणबाट कार्यक्रम शुरू भयो । त्यसपछि गंगा र उज्ज्वल लगायत अरू सबैले दिप प्रज्वलन गरे । सभामा उपस्थित सबै जनाले पालैपालो श्रद्धापूर्बक सहिदको फोटोहरूमा फूलको गुच्छा सहित मालाहरू लगाइ दिदै श्रद्धाञ्जली अर्पण गरे । राष्ट्रिय गीतहरू घन्किएर बजिरहेका थिए । कोही वीर सहिद जिन्दावाद, वीर सहिद अमर रहुन भन्दै जय जयकार गरिरहेका थिए ।

अमरको बाबाले सभामा बोल्दै हुनुन्थ्यो, “त्यो दिन सरकारले सहिद घोषणा गरे लगत्तै अमरको पनि शालिक निर्माण गर्ने भनेको थियो । आजसम्म केही वास्ता छैन । शालिक पनि बनाइदिएको छैन । कहिलेकाही यस्तै बिशेष दिनहरूमा सहिदहरूको मुख हेरेर सम्झना गर्दै चित्त बुझाउने एउटा माध्यम त हुन्थ्यो । मान्छेले देशको सुरक्षा र जनताको हक हितको लागि सहादत प्राप्त गरेका सहिदको फोटो र शालिक भत्काएर हटाउने कार्य गरेका छन । तर जनताले यो कुरा एक रति पनि देख्न र सहन गर्न पनि सक्दैन । यस्तो संस्कृतिले देश र जनतालाई चाहिएको विवकास निर्माणमा सकारात्मक टेवा पुग्दैन । यसरी सहिदको सम्मान हुदैन र आत्माले पनि शान्ति पाउन सक्दैन । हामी जनताले सधैं विभिन्न प्रकारका समस्या र पराकाष्ठाहरू झेल्नुपर्ने दुर्दशाहरू आउन सक्छन । सहिद भनेको राष्ट्रका सम्पत्ति हुन । हामीले उनीहरूको संरक्षण र सम्मान गर्नुपर्दछ । सहिदहरूको सम्मान गरिने संस्कृतिको विकास हुनु जरूरी छ । सहिदको नाममा विभिन्न संघ सस्थाहरु खोलेर देश भित्रको बेरोजगारीपन र वैदेशिक रोजगारमा जाने क्रमलाई कमि गर्दै नेपालमै रोजगार दिलाउने ब्यवस्था गरिनुपर्दछ ।“ सभामा सम्बोधन गर्ने क्रममा अमरको बुबाले यस्तैयस्तै कुरा गर्नु भयो ।

साँझ पख उज्ज्वल गंगाको घरमा गएको थियो । उसको बाबाले सैनिकमा अबकाश पाए पछि स–परिवार नै नेपाल फर्किएर आउने कुरा गर्यो । उसले भन्यो, “बाबाको पुस्ता त बिदेशमै बित्यो तर म आफ्नै परिश्रमको पसिनाले देशको माटो भिजाउन चाहन्छु । मेरो शारीरिक, मानसिक तथा बौद्धिक प्रतिभा मेरै देशको माटोलाई दिन्छु । बाबाले जस्तो आफ्नो सम्पूर्ण जीवन बिदेशीभूमिलाई दिन सक्दिन । जन्म भूमिको सुरक्षा र बिकासको लागि उज्ज्वल नेपालमै आएर मातृ सेवा गर्ने वचन दियो । उनीहरू बीच केहीबेरसम्म यस्तै यस्तै कुराकानी भइरहे । राती दस बजेसम्म पनि उज्ज्वल घर आएन । त्यसैले भाइ प्रज्ज्वल र बहिनी आस्थाले दाइलाई लिएर आफ्नो घर फर्किएर गए ।

राजकुमार श्रेष्ठ, झापा हाल, कतार