म्यानमारकी विदेशमन्त्री सुकीको निवासमा बम आक्रमण

1011
views

एजेन्सी यांगुन । म्यानमारकी विदेशमन्त्री एवं राज्य सल्लाहकार आङ सान सुकीको निवास परिसरबाहिर बिहीबार बिहान विस्फोट भएको छ । नेत्री सुकीको निवास परिसरबाहिर बिहीबार शक्तिशाली पेट्रोल बम विस्फोट भएको हो । विस्फोटबाट घरमा ठूलो क्षति नभएको जनाइएको छ ।

बम विस्फोटपछि लागेको आगोलाई सुरक्षाकर्मीले तत्कालै निभाएका थिए । राज्य परिषद्का महानिर्देशक उजवा हतीले भने, ‘सुकीको निवासमा पेट्रोल बम हानिएको थियो, तर समयमै आगो निभाइएकाले ठूलो क्षति हुनबाट जोगिएको छ ।’

आक्रमणकारीको खोजी जारी भइरहेको छ । ‘बिहीबार बिहान सबेरै भएको सो विस्फोटका दोषीहरूको खोजीकार्य सुरु भएको छ र त्यसका लागि स्थानीय प्रहरी परिचालन गरिएको छ ।’

बम विस्फोटको जिम्मा कुनै समूहले लिएको छैन । विस्फोटबारे म्यानमारका सुरक्षा प्रमुखले केही प्रतिक्रिया दिएका छैनन् । पछिल्लो समयमा म्यनमारका अल्पसंख्यक रोहिंग्या मुस्लिममाथि सेनाले ज्यादती गरेको छ । सैनिक दमनका कारण म्यानमारबाट अहिलेसम्म साढे ६ लाख रोहिंग्या बंगलादेशमा शरण लिइरहेका छन् ।

प्रजातन्त्रवादी नेतृ तथा नोेबेल शान्ति पुरस्कार विजेताले देशको शासनको बागडोर सम्हालेका वेला अल्पसंख्यक रोहिंग्या बिदेसिएको भन्दै अन्तराष्ट्रिय समुदायले सुकीको आलोचना गरेको छ । सुकीलाई दिएको सम्मान फिर्ता गर्नुपर्नेसमेत माग बढेको छ ।