माओवादीबाट प्रदेश नं ७ को मुख्यमन्त्रीका लागि भट्ट सिफारिस

614
views

धनगढी, १९ माघ । माओवादी केन्द्रले प्रदेश नं ७ को मुख्यमन्त्रीका लागि डोेटीबाट प्रदेशसभामा निर्वाचित सांसद त्रिलोचन भट्टलाई सिफारिस गरेको छ । वाम गठबन्धनले प्रदेश नं ७ मा मुख्यमन्त्री माओवादी केन्द्रलाई दिने सहमति गरेसँगै उक्त दलले आज पार्टीको प्रदेश कार्यालयबाट सांसद भट्टको नाम सिफारिस गरेको हो । प्रदेश नं ७ को अस्थायी मुकाम धनगढीलाई नै कायम गर्ने गरी पहाडलाई मुख्यमन्त्री दिन सन्तुलन मिलाउने क्रममा भट्टलाई माओवादीले सिफारिस गरेको आँकलन गरिएको छ ।

त्यसैगरी प्रदेशसभामा १२ जना सांसद रहेको नेपाली काँग्रेसले पनि आवश्यकताअनुसार निर्णय लिएर मुख्यमन्त्रीका लागि अघि बढ्ने संकेत गरेको छ । डडेल्धुराबाट प्रदेशसभामा निर्वाचित सांसद एवं पार्टीका जिल्ला सभापति कर्णबहादुर मल्लले मुख्यमन्त्रीको उम्मेदवारका सम्बन्धमा केन्द्रको निर्देशनअनुसार शनिबारदेखि छलफल गरेर अघि बढ्ने बताउनुभयो ।

प्रदेश नं ७ मा दुईजना सांसद रहेका राष्ट्रिय जनता पार्टीले पनि पार्टीमा छलफल गरेरमात्रै मुख्यमन्त्रीमा कुन दललाई सहयोग गर्ने भन्ने टुंगो लगाउने छ । राष्ट्रिय जनता पार्टीबाट प्रदेश सांसद रहनुभएका मालामती रानाले वाम गठबन्धनले मुख्यमन्त्रीको उम्मेदवार टुंगो लगाएपछि मात्रै आफूहरु निर्णय लिन छलफल गर्ने बताउनुभयो ।
एमालेभित्र पनि लबिङ

प्रदेश नं ७ मा वाम गठबन्धनले मुख्यमन्त्री माओवादी केन्द्रलाई र सभामुख नेकपा (एमाले)लाई दिने सहमति गरेसँगै प्रदेशसभामा बढी सांसद संख्या रहेको नेकपा (एमाले) भित्र पनि सभामुख र संसदीय दलको नेताका लागि लबिङ हुन थालेको छ ।

एमालेभित्र अहिले कञ्चनपुरबाट निर्वा्चित सांसद तारालामा तामाङ, बाजुराबाट निर्वा्चित प्रकाश शाह र कैलालीबाट निर्वा्चित दीर्घ सोडरी संसदीय दलको नेताका लागि दाबेदार देखिनुभएको छ । संसदीय दलको नेताका लागि आकांक्षी देखिनुभएका बाजुराका सांसद शाहले पार्टीको प्रदेश कमिटिको नेतृत्व सहमतीबाटै नेता छान्नेमा आफू आशावादी रहेको बताउनुभयो । एमालेभित्र डोटीका पूर्णा जोशी, डडेल्धुराका पठानसिंह बोहरा र बझाङका अर्जुन थापाको नाम पनि सभामुखको पदमा चर्चा छ ।

माओवादीभित्र भने उपसभामुखमा बझाङबाट प्रदेशसभामा निर्वाचित देवकी मल्ल र डडेल्धुराबाट समानुपातिक सांसद कुन्ती जोशीको चर्चा हुन थालेको छ । पहिलो बैठक बसेको १५ दिनभित्र सभामुख र उपसभामुखको निर्वाचन गरिसक्नुपर्छ । सभामुख पुरुष भए उपसभामुख महिला हुनुपर्ने संवैधानिक व्यवस्था छ ।

प्रदेश नं ७ को आइतबार हुन लागेको पहिलो बैठक प्रदेशसभाकी ज्येष्ठ सदस्य दिव्यश्वरी शाहको अध्यक्षतामा बस्नेछ । बैठकका लागि उहाँ शुक्रबार काठमाडौँबाट धनगढी आउँदै हुनुहुन्छ ।