बाढी प्रभावितका लागि आठ जिल्लामा पुनर्लाभ कार्यक्रम

555
views

रिना खनाल
काठमाण्डौ, २२ माघ । नेपाल रेडक्रस सोसाईटी केन्द्रिय कार्यालयले चितवनमा आयोजित एक भेलामा साउनको बाढी पश्चात रौतहटका आठहजार घरपरिवारलाई नगद वितरण गरेको जनाएको छ । सोसाईटीले चारहजार परिवारलाई खाद्यान्न र एकहजार एकसय २९ जनालाई गैरखाद्य सामग्रीको सेट वितरण गरेको जनाएको छ ।

गत साउनको अन्तिम साता नेपालको तराइ क्षेत्रमा गएको बाढी पश्चात नेपाल रेडक्रस सोसाइटीले सञ्चालन गरेको तत्काल उद्धार र राहतको विषयमा भएको सबैखालका गतिविधि समेतको अनुभव आदान प्रदान गर्नुको साथै सिकाईको अनुभव र लेखाजोखा समेत गरेको छ ।

साउनको बाढी र तत्काल प्रतिकार्य
नेपाल रेडक्रस सोसाईटीले साउनको बाढीले झण्डै १७ लाख मानिसहरुलाई प्रभावित पारेको तथ्याङ्क सार्वजनिक गर्दै ९० भन्दा वढी मानिसले ज्यान गुमाउनुपरेको जनाएको छ ।बाढीले सामाजिक क्षेत्र, उत्पादन क्षेत्र र पूर्वाधार क्षेत्रमा गम्भीर क्षति पु¥याएको जनाएको छ ।

उक्त भेलामा नेरेसोका वाढी पुनर्लाभ कार्यक्रम सँयोजक डा. कृष्ण देवकोटाले बाढी पश्चात २२ जिल्लामा नेरेसोले १० हजार ५ सय सेट राहत सामग्री, १६ जिल्लामा ८ हजार त्रिपालहरु, ३ जिल्लामा ३ हजार झुल वितरण गरिएको तथा प्रभावित जिल्लाहरुमा ४ लाख पानी सुद्धिकरण ट्यावलेटहरु सहित सरसफाइ र पुनर्जलीय औषधीहरु वितरण गरिएको र १२ जिल्लामा तयारी खानेकुराहरु वितरण भएको जानकारी दिनुभएको छ ।

मुख्य सिकाइहरु 
कार्यक्रममा पूर्वचेतना प्रणालीको विस्तार, प्रभावितहरुको सहभागितामा सामग्री र सहयोग वितरण योजना, सरोकारवालासँगको सहकार्य र पारदर्शी सहयोग कार्यक्रमले भविश्यमा यस्ता विपद्हरुमा प्रभावकारी काम गर्न सघाउ पुग्ने पाठ सिकिएको नेरेसो विपद् व्यवस्थापन विभागका प्रमुख धर्मराज पाण्डेयले निष्कर्ष निकाल्नुभएको छ ।

उहाँले समुहमा उठेको क्षतिको विस्तृत तथ्याँक सँकलन, अभिलेखिकरण र विश्लेषणलाई प्रभावकारी बनाउनुपर्ने, तयारी खाद्य बस्तुलाई राहत प्याकेजमा समावेश गर्नुपर्ने, सामग्री ढुवानीमा स्थानीय सुरक्षा निकायको सहयोग वढाउनुपर्ने, खुला र सुरक्षित स्थलको पूर्व पहिचान हुनुपर्ने, सामुदायिक भवनहरु बनाइनुपर्ने जस्ता अल्पकालीन कार्यहरु तत्काल सुरु गर्नुपर्ने सुझावहरु पेश गर्नुभएको छ ।

साथै कार्यक्रममा क्षेत्रीय गोदामघरहरुको स्तरोन्नती तथा ढुवानी साधनको व्यवस्था, जिल्ला जिल्लामा बनेको विपद् प्रतिकार्य योजनाको अद्यावधिक, विपद् जोखिम क्षेत्रका उपशाखाहरुमा खोज तथा उद्दारकर्मी र सामग्रीको व्यवस्था, सूचना व्यवस्थापन प्रणालीको विस्तार, आपत्कालीन आवास व्यवस्थापन जस्ता दीर्घकालीन गतिविधिहरु सञ्चालन गर्न जिल्ला शाखाबाट सुझाव प्राप्त भएको जनाउनुभएको छ ।

कार्यक्रममा नेपाल रेडक्रस सोसाईटीका उपाध्यक्ष हरी निरौलाले स्थानीय तहले स्वास्थ्य र विपद्को क्षेत्रमा बजेट वाँडफाँड गरेकोले त्यो स्रोत पूर्व तयारीमा लगाउन बहस पैरवी र प्राविधिक सहयोगलाई मुख्य बनाउनु पर्ने बताउनुभएको छ ।

आठ जिल्लामा पुनर्लाभ कार्यक्रम सुरु गर्ने

नेपाल रेडक्रस सोसाइटी केन्द्रिय कार्यालयले तराई मधेशका आठवटा जिल्लामा वाढी प्रभावितहरुलाई लक्षित गरी पुनर्लाभ कार्यक्रम सुरु गर्ने घोषणा गरेको छ । सुनसरी, सप्तरी, सिरहा, महोत्तरी, रौतहट, उदयपुर र बर्दिया जिल्लामा रेडक्रसको अन्तराष्ट्रिय महासंघको सहयोगमा सातहजार घरधुरीलाई केन्द्रमा राखी आवास, जीविकोपार्जन, स्वास्थ्य, पानी तथा सरसफाई कार्यक्रम सञ्चालन हुने र सर्लाहीमा अमेरिकन रेडक्रसको सहयोगमा पुनर्लाभ गतिविधि सञ्चालन हुने जानकारी दिएको छ ।

रेडक्रसको बाढी पुनर्लाभ कार्यक्रमका प्रमुख डा. कृष्ण देवकोटाले दिएको जानकारी अनुसार ‘वाढीको समयमा गरिएका सहयोग तथा सर्वेक्षण, नेपाल सरकारको योजना तथा उपलव्ध स्रोतको आधारमा यो निर्णय गरिएको हो ।’

सहभागिता
चितवनमा भएको उक्त भेलाको उद्घाटन नेरेसोका अध्यक्ष सञ्जीव थापाले गर्नुभएको थियो । भेलामा नेरेसोका उपाध्यक्षहरु अजीत कुमार शर्मा, हरि निरौला र सुदर्शन प्रसाद नेपाल, उपमहामन्त्री हरि प्रसाद न्यौपाने, राष्टिय विपद् व्यवस्थापन र केन्द्रीय स्वास्थ्य समितिका सभापति मनोज थापा र उत्तम जोशी, रेडक्रसको अन्तराष्ट्रिय समितिका प्रतिनिधि हाजिमी, नेरेसोका केन्द्रीय सदस्यहरु सूर्यचन्द्र न्यौपाने, कृष्ण प्रसाद न्यौपाने र राजदेव यादव र कामु कार्यकारी निर्देशक इन्द्र बहादुर केसी, रौतहट रेडक्रस शाखाका सभापति सन्जीव मल्लिकको सहभागिता रहेको थियो ।