मोबाइलमा सबैभन्दा धेरै खर्च गर्ने व्यक्ति र संस्था सम्मानित

723
views

काठमाण्डौ, २२ माघ । नेपाल टेलिकमले सोमबार सार्वजनिक गरेको तथ्यांक अनुसार एक वर्षभरीमा सबैभन्दा धेरै खर्च गर्नेमा काठमाडौं बौद्धका कुलमान घिसिङ रहेको जनाएको छ ।

उनले एक वर्षमा आफ्नो पोष्टपेड मोबाइल नम्बरबाट १ लाख ९७ हजार ६ सय २५ रुपैयाँ ४० पैसा खर्च गरेका छन् । नेपाल टेलिकमको चौधौं वार्षिकोत्सवको अवसरमा सबैभन्दा धेरै मोबाइल प्रयोग गर्ने आफ्ना ग्राहकलाई सम्मान गर्न उक्त तथ्यांक सार्वजनिक गरेको हो ।

टेलिकमको आफ्नो वार्षिकउत्सवको अवसरमा ग्राहकको प्रतिनिधित्व हुने गरी मोवाइल तथा अन्य सेवामा सबैभन्दा धेरै खर्च गर्नेहरुलाई सम्मान गरेको छ । त्यसैगरी, संस्थागत पोष्टपेड मोबाइलबाट धेरै खर्च गर्नेमा सूर्य नेपाल प्रा.लि. परेको छ । उसले एक वर्षमा ९ लाख ४६ हजार १ सय ८० रुपैया ६० पैसा खर्च गरेको छ।

नेपाल टेलिकमको प्रिपेड मोबाइलबाट सबैभन्दा धेरै खर्च गर्नेमा काठमाडौं बानेश्वरका पुष्प दुलाल रहेका छन् । उनको वार्षिक मोबाइल खर्च ६४ हजार ४ सय ५ रुपैया ७१ पैसा रहेको छ ।

सिडिएमए पोष्टपेडमा व्यक्तीगत रुपमा सबैभन्दा धेरै रिचार्ज गर्नेमा मोरङका दिलबहादुर लावती र संस्थागतमा नवज्योति इम्पेक्स, काठमाडौं रहेको छ । लावतीले ३७ हजार २ सय र नव ज्योतिले १८ हजार ६ सय खर्च गरेका छन । सिडिएमए प्रिपेडमा व्यक्तिगत रुपमा सुनसरी, महेन्द्रनगरका विदुर परियारले २ लाख २१ हजार १ सय ६ रुपैया ७० पैसा रहेको टेलिकमले जनाएको छ ।

वाइम्याक्समा सबैभन्दा धेरै खर्च गर्नेमा सिनो हाइड्रो कर्पोरेसन लिमिटेड, पाटन, ललितपुर रहेको छ । उसले ८८ हजार रुपैयाँ वार्षिक खर्च गरेको छ । सर्वोच्च अदालत, काठमाडौंले लिज लाइन प्रयोग गर्दै १ करोड ६८ लाख २९ हजार ६ सय ८० रुपैया ९४ पैसा खर्च गरेको छ ।

पिएसटिएन अर्थात ल्यान्डलाइन टेलिफोन धेरै प्रयोग गर्नेमा त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थल रहेको छ। जसको खर्च ४२ लाख १ हजार २ सय ३४ रुपैया ३१ पैसा रहेको छ। व्यक्तीगत रुपमा ल्यान्डलाइन प्रयोग गर्नेमा कंचनपुरका रामप्रसाद राना रहेका छन् । उनले वार्षिक १ लाख २६ हजार ८ सय ६४ रुपैया ५२ पैसा खर्च गरको टेलिकमले जनाएको छ।