प्रचण्डज्यू ! फड्को हान्दा टाङ् च्यातिएला नि !

491
views

मुकुन्दराज दहाल
मैले यो आलेख लेख्नु पर्नाको कारण पहिले वताउँछु । म, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको गृहजिल्ला चितवनकै बासिन्दा हुँ र उहाँ हाम्रो मतले निर्वा्चित सांसद र जनप्रतिनिधि पनि हुनुहुन्छ । गत चुनावमा उहाँलाई हामीले नै चुनेर पठाएका हौं–एक बृहद उद्धेश्यका लागि । र त्यो उद्धेश्यमाथि विश्वासको जग निर्माण गर्न उहाँ भन्दा अरु कसैको बढि भूमिका थियो । उहाँलाई पनि त्यहि उद्धेश्यको सहयात्री ठानेर हामीले विश्वास गरेका हौं । तर, अनायासै अस्ती चितवनमा उहाँले ‘फड्को हान्ने’ कुरा गर्नु भएपछि उहाँको शुभचिन्तकका नाताले यो लेख्न बसेको हुँ । एमाले र माओवादी घोषित उद्धेश्य पूरा गरुन् भन्ने बाहेक कुनै पनि पक्षप्रति पूर्वाग्रह नराखी आफूलाई प्रस्तुत गर्छु । शनिवार नेपालका सञ्चार माध्यामहरुमा प्रकाशित प्रसारित समाचारको एउटा शीर्षकले मलाई बाल्यकालको झझल्को राम्रैसँग गरायो । चौहत्तर साल माघ २७ गते साँझतिर अनलाईन समाचारहरुतर्फ नजर लगाएको मात्र के थिएँ, एउटा सनसनी समाचार भाइरहल भैसकेको रहेछ । सो समाचारको शीर्षकले मेरो ध्यान पनि अनायासै मोड्यो । समाचारको विषयले भन्दा समाचारको शीर्षकले मेरो ध्यानलाई बढी खिच्यो । यसरी मेरो ध्यान बढी खिच्नुमा अध्ययनमा व्यस्त भइरहेको बेला अचानक यो शीर्षकको समाचारले मलाई एकाएक नोस्टाल्जिक बनाएर विगततर्फ मेरो ध्यान मोडिएपछि क्यामेराको रिल झैं बाल्यकालमा मैले देखेका र भोगेका फड्के खेल वा यात्राका चित्रहरु मानसपटलमा आइरहे ।

मलाई थाहा छैन सबैले केटाकेटीमा फड्को हान्ने गरेका हुन्छन् वा हुन्नन् । तर अनुमान लगाउन मिल्छ कि हरेक व्यक्तिले आफ्नो जीवनकालमा फड्को हानेको वा फड्के खेलको अनुभव भने पक्कै लिएको हुनुपर्छ । हामी सबैले आफ्नो बाल्यकालको अनुभव स्मरण गर्यौंभने पुराना अनुभवहरु ताजा बनेर मानसपटलमा आउन थाल्छन् । सार्वजनिक सचारमाध्यमहरुमा भाइरल भएर मेरो समेत ध्यान खिचेको समाचारको शीर्षक थियो ‘म अर्को फड्को हान्न बेर मान्दिनँ’ ।

हामी सानो छँदा खोल्सा, नदी, बार वा भङ्गाला पार गर्नुपर्यो भने स्वभाविक तरिका नअपनाई छिटो गर्नका लागि फड्कने गथ्र्यौं वा फड्को हान्ने गथ्र्यौं । म आठ नौ वर्षको हुँदो हुँ । हाम्रो घर नजिक एउटा खोला मलाई पनि अनुभव छ सानो छँदा खोलाको साँघुरो घाँटी भएको ठाउँमा पटक पटक फड्को हानेको । गोठालो जाँदा, घाँस काट्न जाँदा वा मामाघर जाँदा छिटो होस् भनेर धेरै ठाउँमा फड्को हान्थें । एक पटकको कुरा हो फड्को हान्न खोज्दा सालको पातमा चिप्लिएर पछारिएँ । शरिर धुलाम्य भयो, कपडा च्यातियो, घुँडा ठोक्यिो र कुहिनोमा चोट लाग्यो तर धन्य त्यती हुँदा पनि आँखा लगायतका सम्वेदनशील अंगहरुमा केहि भएन । तर एक हप्ताभन्दा बढी त्यसको असर रह्यो ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आफ्नो गृह जिल्ला चितवनमा भएको कार्यक्रममा बोलेको बिषयले राष्ट्रियस्तरमा मात्र नभएर अन्तर्रा्ष्ट्रिय स्तरसम्म चर्चा पाएको छ भने त्यसले मलाई असर नगर्ने कुरै भएन । तर मैले चाहिँ यस समाचारको शीर्षकबाट उनले भनेको बिषय बस्तुतर्फ भन्दा आफ्नो बालापनको भोगाई र सिकाईतर्फ पो सोच्न थालेछु । बालापनको विगतले फड्को मार्दा टाङ् च्यातिएर घाइते भएका सम्मका याद मेरो मानसपटलमा आए । अनि मनमनै सोचेँ कतै पुष्पकमल दाहालको पनि त्यस्तै अवस्था त आउने होईन ? त्यसैले म चितवनको बासिन्दा समेत भएको हुनाले हाम्रो जिल्लाका माननीय सांसद मात्र हैन अहिलेको तेस्रो ठूलो दलका अध्यक्ष समेत रहेका विगतमा धेरै खेलो फड्को खेल्दै सफल हुँदै आउनु भएका नेतालाई फड्को हान्दा टाङ् च्यायतिने अवस्था नआओस् भन्दै आफ्नो विगतको अनुभव साट्ने धृष्टता गर्छु ।

आइतबारका समाचार पत्रहरुमा दाहालको फड्को हान्ने समाचारले छाएकै छ । अर्थात भनौं सकारात्मक वा नकारात्मक जुनसुकै रुपमा भए पनि दाहालको सो अभिव्यक्तिले निकै चर्चा पाएको छ । र चर्चा पाउनु पनि स्वाभाविक छ । तर दाहालको सो भनाईको अन्तर्य र उनले चाल्ने त्यस्तो खेलो फड्कोले मुलुकलाई कति नोक्सान पुर्याउँछ त्यो मननीय त छँदैछ । त्यसभन्दा बढि त्यसले स्वयम् पुष्पकमल दाहाल र उनको पार्टी नेकपा माओवादी केन्द्रलाई समेत के कस्तो असर पर्दछ भन्ने कुरा मननीय छँदैछ । दाहालले फड्को हान्ने कुरा एकीकृत पार्टीको अध्यक्ष तत्काल नपाउने हो कि भनेर भावावेशमा आएर वा सार्वजनिक दवाव डाल्नको लागि चितवनको कार्यक्रममा बोलेका हुन् भन्ने प्रष्टै छ । केपी ओलीसँगको एक्लाएक्लै वार्तामा अध्यक्ष पद तत्काल हात नलाग्ने अवस्थाको आँकलन गरेपछि प्रतिक्रियास्वरुप अर्को फड्को हान्ने वा वाम गठबन्धन तोडेर निवर्तमान पार्टनरसँग सहकार्य गर्ने उद्घोष गर्छु भन्ने वातावरण बनाउन खोजेको अनुमान लगाउन सकिन्छ । पुष्पकमल दाहालको अस्थिर र अविश्वसनीय चरित्र निर्माणको मूल कारण उहाँको नेतृत्वको अतृप्त चाहना र अति महत्वाकांक्षा नै हो ।

उनले कुन सन्दर्भ र परिस्थितिमा फड्को मार्ने अभिव्यक्ति दिनु भएको हो भन्ने कुरा स्पष्ट छ ।। दाहालको पछिल्लो अभिव्यक्तिले उहाँको अस्थिर एवम् अविस्वशनीय स्वभाव र चरित्रलाई नै प्रकट गर्दछ । आफूलाई अस्थिर भनेर व्यंग नगर्न आग्रह गर्ने सन्दर्भमा आएको उहाँको त्यस्तो अभिव्यक्तिले उहाँकै दावीलाई खण्डित गरेको छ । बस्तुतः उहाँले गतिशीलताको जतिसुकै आवरण दिन खोजे पनि उहाँका कतिपय कदमहरुले उहाँलाई अस्थिर र अविस्वशनीय नै बनाएको छ । शान्तिप्रक्रिया अघिका उहाँका निर्णयहरुलाई छोडेर हेर्दा पनि उहाँका कदमहरुले उहाँलाई समेत घात गरेका छन् ।

गिरिजाप्रसाद कोइराला र माधव नेपाललाई राष्ट्रपति बनाउने समझदारी बिपरितको उहाँको फड्कोले उहाँलाई कसरी विश्वशनीय र स्थिर मान्ने ? रुक्माङ्गत कटुवालाई प्रधानसेनापतिबाट हटाउने र हुँदाखाँदाको प्रधानमन्त्रीको पदबाट राजीनामा दिने उहाँको फड्कोले उहाँलाई कुन विश्वशनीय र स्थिर स्वभाव भएको नेता हुनुहुन्छ भनेर निष्कर्ष निकाल्न सकिन्छ ? आफ्नै पार्टीको संलग्नता रहेको, आफैं उच्चस्तरीय हाइकमाण्डको प्रमुख भइ गठन गरिएको ओली सरकारलाई अपदस्त गर्ने षडयन्त्रमा सामेल भई सरकार ढालेको घटनाले उहाँलाई कस्तो चरित्र र स्वभाव भएको नेता मान्न सकिन्छ ? विगतमा भएका यस्ता खराव उदाहरणहरुले उहाँका सामुन्ने अस्थिरता र अविश्वशनीयताका सयौं प्रश्नहरु पुष्पकमल दाहालका अघिल्तिर तेर्सिरहनेछन् । अब आवेगी अभिव्यक्तिले उहाँलाई थप अविश्वसनीय र अस्थिर चरित्रमा उहाँको पराकाष्टा नाघ्नेछ । युद्ध र शान्ति दुबैको नेतृत्व गर्दै यहाँसम्म आइपुगेका नेकपा माओवादी केन्द्रका अध्यक्ष दाहालको नयाँ फड्कोले उहाँको टाङ् च्यातिने अवस्था नआउला भन्न सकिंदैन । हुनत थेगोको रुपमा उहाँले देशको हितको लागि फड्को हान्ने भने पनि त्यसले न देशको हित हुनेछ, नत उहाँकै पार्टी र स्वयं उहाँकै ।

पुष्पकमल दाहालले पटक पटक गिरिजाप्रसाद कोइरालाको प्रसंग निकालेर आफूलाई मुलुलको जिम्मेवारी सुम्पिएको दावी गर्दै आउनु भएको छ । र उहाँप्रति नतमस्तक भएजस्तो भान पार्नुभएको पनि छ । यदि उहाँको भनाईलाई विश्वास गर्ने हो भने उहाँले विगतमा राष्ट्रपतिको पद देखाएर लोभ्याउनुभयो तर पछि धोका दिनुभयो । कोइरालाको जीवनको अन्तिम घडीमा भेट भएको बेला अब नेपालको जिम्मा तपाईको काँधमा हो भनेर भनेका हुन्थे भने पुष्पकमल दाहाल नेपाली कांग्रेस पार्टीसँग निरन्तर सहकार्य गरेर नगई एमालेतर्फ किन लहसिनुभयो त ? के नेपाली जनले यति पनि मुल्यांकन गर्न सक्दैनन् भन्ने ठान्नु भएको हो ? पूर्वजको योगदानको सम्मान गर्नु दायित्व र कर्तव्य पनि हो र आफैप्रतिको गौरव पनि हो । तर पुर्खाको कुरा गरेर इमोशनल व्ल्याकमेलिङ गर्दै आफ्नै पदीय स्वार्थ र महत्वाकांक्षालाई पूरा गर्ने साधनको रुपमा प्रयोग गर्नु कुनै पनि इमानन्दार नेताको चरित्र हुन सक्दैन ।

निश्चयनै इतिहासले हरेक व्यक्ति, संस्था र नेतृत्वमा रहेका पात्रहहरुको मुल्यांकन गर्दछ । अर्थात् अबको इतिहास जस्ताको तस्तै लेखिन्छ । विगतमा जस्तो एक पक्षीय इतिहास लेखिने अवस्था अबको युगमा छैन । यद्यपि भन्ने गरिन्छ इतिहास जित्नेहरुको मात्र लेखिन्छ । आजको युगमा जित्नेले किन र कसरी जित्यो भनेर जसरी लेखिनेछ त्यसैगरी हार्नेको पनि । त्यसैले पुष्पकमल दाहालले नेपालको लागि पुर्याउनु भएको योगदानको कसैले अवमूल्यन गरेर मेटिने छैन । त्यस्तै अर्को सत्य के हो भने उहाँका कमजोरीहरुलाई पनि कसैले छोपछाप पारेर इतिहास लेखिनबाट रोक्न सक्दैन । यो पुष्पकमल दाहाल र केपी शर्मा ओलीको मात्र हैन सबैको हकमा लागू हुन्छ भन्ने कुरालाई भुल्नु हुँदैन ।

मैले बुझेसम्म नेकपा एमालेका नेताहरु एकीकृत पार्टीको अध्यक्षमा पुष्पकमल दाहाललाई बिराजमान गराउन चाहन्छन् । तर कुरा यत्तिमात्रै हो त्यो अवस्था एकीकृत पार्टीको महाधिवेशनबाट गर्दा राम्रो हुन्छ । राम्रो सबैलाई हुन्छ । राम्रो मुलुकलाई पनि हुन्छ । त्यसैले, अन्त्यमा म नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई सुझाव दिन चाहन्छु कि केटाकेटीमा फड्को मार्दा मलाई चोट लागेजस्तै हुनेगरी तपाईले अर्को वा नयाँ फड्को नमार्नुहोला । पदलाई मात्र ठूलो नठानी मूल्य, मान्यता, विधि, प्रक्रिया र आम मनोविज्ञानलाई समेत ख्याल गर्नुहोला ।

ठूलो छाती बनाएर धैर्यता, संयम, विवेकपूर्ण सोचबाट निर्दे्शित भई जनभावना र जनअनुमोदनलाई सम्मान गर्नुहोला । इतिहासले सुम्पिएको ठूलो अवसर एकीकृत पार्टीमार्फत समृद्ध राष्ट्र निर्माण गर्ने आधारशीला खडा गर्न तपाईंको पुस्ताको नेतृत्वलाई इतिहासले सुम्पेको जिम्मेवारी पूरा गर्ने अवसरलाई नचुकाउनु होला । त्यसैले आवेग र उत्तेजनामा आई अरुको उक्साहटमा नलागी र कुनै स्वार्थ, लोभ र कुनै पनि खाले भयमा नपरी युगीन जिम्मेवारी पूरा गर्नुहोला । त्यसो गर्न तपाईंमा भएको आँट र साहलाई रचनात्मक र सकारात्मक सोचका साथ प्रयोग गर्नुभयो भने तपाई नेपालको सफल नेता बन्न सम्भव छ । अन्यथा नयाँ फड्को हान्छु भन्दा अनायासै टाङ् च्यातिन सक्छ, होस् गर्नु नै बेस हुन्छ ।

समयले कसैलाई पनि सिक्ने अवसर दिन्छ तर, सिक्न बाध्य पार्न सक्दैन । नसिक्नेलाई दण्डित भने अवश्य गर्नेछ । दार्श्निकहरुको भनाई छ कि सिक्न तयार होउ कि सिद्धिन । यो सबैको हकमा लागू हुने हो, तपाईंलाई सुभकामना ।
(खैरहनी नगरपालिका–१, चितवन )