नेतृत्व परिवर्तन नगरे काँग्रेस सकिन्छ–नेता सिंह

403
views

काठमाण्डौ,, ७ फागुन । यतिबेला नेपाली काँग्रेसभित्र नेतृत्व परिवर्तन गर्नुपर्ने आवाज छताछुलल भएको छ । यसैबीच नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले कांग्रेस विधिअनुसार चल्न नसकेको बताउनुभएको छ ।

प्राविधिक विद्यार्थी परिषद् केन्द्रीय समितिले प्रजातन्त्र दिवसका अवसरमा आयोजना गरेको ‘प्रजातान्त्रिक आन्दोलनमा नेपाली काँग्रेस र वर्तमान अवस्थामा प्राविधिक विद्यार्थीको भूमिका’ विषयक कार्यक्रममा नेता सिंहले यस्तो आरोप लगाएउनुभएको हो । उहाँले पार्टी विधि, विधानअनुसार चल्न नसक्दा कमजोर हुँदै गएको पनि बताउनुभयो ।

‘प्रजातन्त्र स्थापना गर्न महत्वपूर्ण भूमिका खेलेको पार्टी कमजोर हुँदै गएको छ, त्यसैले पार्टीलाई जोगाउनका लागि नेतृत्व परिवर्तन आवश्यक छ’, उहाँले भन्नुभयो । पूर्व महामन्त्री सिंहले एकतन्त्रीय राणा शासनलाई परास्त गरेर प्रजाको शासन स्थापना गर्न काँग्रेसको ठूलो भूमिका रहेको भन्दै काँग्रेसको पुरानो विरासत जोगाउन आवश्यक रहेको बताउनुभयो ।

उहाँले पार्टी सभापति र पदाधिकारीहरु विधानअनुसार निर्वाचित भएर आउने तर निर्वाचित भएपछि विधानलाई बेवास्ता गर्ने परिपाटी पार्टीभित्र रहेको भन्दै यसको अन्त्य हुनु जरुरी रहेको उल्लेख गर्नुभयो ।

पार्टीका केन्द्रीय सदस्य गोविन्द भट्टराईले प्रजातन्त्र स्थापनाको नेतृत्व गरेको पार्टीको पराजय हुनु प्रजातान्त्रिक पद्धतिकै पराजय भएको बताउनुभयो । ‘नेविसंघ बलियो भएमात्र काँग्रेस बलियो हुन्छ, पार्टी बलियो हुन भ्रातृसंस्था बलियो हुनुपर्छ’, उहाँले भन्नुभयो ।