एमाले–माओवादी एकताको सातबुँदे सहमती, अब नेपाल कम्युनिष्ट पार्टी हुने (भिडियो सहित)

698
views

काठमाडौँ, ८ फागुन । नेपालका दुई शक्तिशाली कम्युनिस्ट पार्टी नेकपा एमाले–माओवादी केन्द्रले पार्टी एकताको औपचारिक घोषणा गरेका छन् । दुवै पार्टीका अध्यक्षसहित एकता संयोजन समितिमा रहेका सबै नेताले एकताको सातबुँदे सहमतिपत्रमा हस्ताक्षर गर्दै सोमबार मध्यराति पार्टी एकता घोषणा गरेका हुन् ।

प्रधानमन्त्रीनिवास बालुवाटारमा बसेको एकता संयोजन समिति बैठकमा पार्टी नेतृत्व, कार्यदिशालगायत विषयमा सहमति जुटेपछि एउटै कम्युनिस्ट केन्द्र निर्माण गर्ने अठोटसहित नेताहरूले सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् । एकतापछि एकीकृत पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी र निर्देशक सिद्धान्त माक्र्सवाद–लेनिनवाद बनाउने घोषणा गरेका हुन् ।

२००६ सालमा पुष्पलालको नेतृत्वमा नेपाल कम्युनिष्ट पार्टी स्थापना भएको थियो । तर २०१९ सालको तेस्रो महाधिवेशनसँगै कम्युनिष्ट पार्टीमा विभाजनको शृंखला कोरिएपछि यी दुई पार्टीले फरक–फरक स्कुलिङमा पार्टी चलाउँदै आएका थिए ।

एमालेले अँगाल्दै आएको जनताको बहुदलीय जनवाद र माओवादीले अँगाल्दै आएको ‘माओवाद र एक्काइसौं शताब्दीको जनवाद’ सम्बन्धी विषयलाई दुवै पार्टीले एकताको महाधिवेशनसम्म छलफलका रूपमा लगेर आवश्यक परिमार्जन र विकास गर्ने गरी टुंगोमा र्पुयाउने समझदारी पनि बनाएका छन् ।
संयुक्त नेतृत्व, आलोपालो प्रधानमन्त्री

‘पार्टीको बैठकमा आलोपालो अध्यक्षता गर्ने र सरकारमा साढे दुई–साढे दुई वर्ष आलोपालो नेतृत्व लिने सहमति भएको एमाले नेता झलनाथ खनालले बताए । एमालेकै अर्का नेता प्रदीप ज्ञवालीले एकीकृत पार्टीको नेतृत्व भने द्विअध्यक्षात्मक प्रणालीका आधारमा दुवै अध्यक्षले संयुक्त रूपमा गर्ने समझदारी भएको बताए ।

दुई कार्यदल गठन

एमाले–माओवादीले एकीकृत पार्टी सञ्चालन गर्न दुई छुट्टाछुट्टै कार्यदल पनि सोमबारको बैठकबाटै गठन गरेका छन् । एकीकृत पार्टीको अन्तरिम राजनीतिक प्रतिवेदन तयार पार्न नौ सदस्यीय समिति गठन भएको छ । समितिमा माधव नेपाल, भीम रावल, प्रदीप ज्ञवाली, रघुजी पन्त, नारायणकाजी श्रेष्ठ, देव गुरुङ, शक्ति बस्नेत, पम्फा भुसाल र देवेन्द्र पौडेल छन् ।

त्यस्तै, अन्तरिम विधान र संगठनात्मक ढाँचा तयार पार्न सात सदस्यीय कार्यदल गठन भएको छ । कार्यदलमा रामबहादुर थापा, ईश्वर पोखरेल, वर्षमान पुन, सुरेन्द्र पाण्डे, वेदुराम भुसाल, रघुवीर महासेठ र गिरिराजमणि पोखरेल छन् ।