विश्वकप छनोट क्रिकेटः नेपालले आज आयोजक जिम्बावेसँग खेल्ने

618
views

काठमाण्डौ, २०, फागुन । एक दिवसीय विश्वकप छनोट क्रिकेट प्रतियोगिता आजबाट जिम्बावेमा सुरु हुँदै छ । प्रतियोगिताअन्तर्गत आफ्नो पहिलो खेलमा नेपालले आज आयोजक जिम्बावेको सामना गर्दै छ । नेपाली समयअनुसार दिउँसो सवा १ बजे खेल सुरु हुने छ ।

प्रतियोगितामा टेष्ट मान्यता प्राप्त चार राष्ट्रसहित कूल १० राष्ट्रले प्रतिस्पर्धा गर्दै छन् । नेपाल र जिम्बावेसँगै समुह बी मा अफगानिस्तान, स्कटल्याण्ड र हङकङ रहेका छन् । यस्तै समूह ए मा वेष्ट इन्डिज, आयरल्याण्ड, नेदरल्याण्ड्स, युएई र पपुवान्युगिनी छन् ।

प्रतियोगिताका शीर्ष दुई स्थानमा रहने राष्ट्र अर्को बर्ष इङ्ल्यान्डमा आयोजना हुने एक दिवसीय विश्वकप क्रिकेट प्रतियोगिताका लागि छनोट हुने छन् । विश्व क्रिकेट लिग डिभिजन २ बाट बढुवा हुँदै प्रतियोगितामा स्थान बनाएको नेपालले सुपरसिक्स चरणमा पुग्दै एक दिवसीय अन्तराष्ट्रिय मान्यता पाउने प्रमुख लक्ष्य बनाएको छ ।

नेपालले आफ्नो दोस्रो खेलमा स्कटल्याण्ड, तेस्रो खेलमा अफगानिस्तान र चौथो तथा समूह चरणको अन्तिम खेलमा हङकङ्सँग प्रतिस्पर्धा गर्ने छ । दुबै समुहका शीर्ष तीन स्थानमा रहने राष्ट्र सुपरसिक्स चरणमा प्रवेश गर्नेछन् ।