पार्टी एकतामा धोका हुँदैनः प्रधानमन्त्री ओली

557
views

काठमाण्डौ, २१ फागुन । प्रधानमन्त्री एवम् नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेकपा (माओवादी केन्द्र) सँगको पार्टी एकतामा कुनै धोका नहुने स्पष्ट गर्नुभएको छ । झापा आन्दोलनका पाँच शहीदको ४५औँ वार्षिक स्मृति दिवसका अवसरमा आज नेकपा एमाले केन्द्रीय कार्यालय धुम्बाराहीमा आयोजित स्मृति सभा कार्यक्रममा उहाँले आफ्नो पार्टी विगतदेखि नै कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध र मुलुकको समृद्धिका लागि क्रियाशील रहेकाले पार्टी एकतालाई सावधानीपूर्वक अघि बढाउन दृढ संकल्पित रहेको बताउनुभयो ।

उहाँले शहीदको योगदानबाट मुलुक संघीय लोकतान्त्रिक गणतन्त्रको अवस्थामा आइपुगेकाले उहाँहरुको आकांक्षाअनुसार मुलुकको सामाजिक न्याय र समानता तर्फको यात्रालाई सरकारले लोकतान्त्रिक विधिअनुसार पूरा गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । तत्कालीन पञ्चायत सरकारले २०२९ फागुन २१ गते झापा आन्दोलनका नेताहरु रामनाथ ढकाल, नेत्र घिमिरे, वीरेनसिंह राजवंशी, कृष्ण कुइँकेल र नारायण श्रेष्ठलाई झापा र इलामको सिमानामा पर्ने सुखानी जंगलमा लगी हत्या गरेको थियो ।

स्मृति सभामा एमालेका वरिष्ठ नेताहरु झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम, झापा आन्दोलनका नेता राधाकृष्ण मैनाली, शहीद परिवारका सदस्यलगायत हुनुहुन्थ्यो ।