तालपोखरामा डुङ्गा सरर, मिनि फेवातालको रुपमा विकास

936
views

पाल्पा, २२, फागुन । पाल्पा रामपुरको तालपोखरा अहिले मिनी फेवातालको रुपमा परिचित हुन थालेको छ । स्थानीयको पहलमा तालपोखराको संरक्षण भएसँगै यसको रुप नै फेरिएको छ ।

पाल्पाको रामपुर नगरपालिका वडा नं. ६ मा रहेको तालपोखरा स्थानीयको पहलमा संरक्षणसँगै मिनी फेवातालको नामले समेत परिचित बन्दै गएको छ । तालपोखरालाई रामपुर क्षेत्र कै धार्मिक एवं पर्यटकिय स्थलको रुपमा अघि बढाउन स्थानीयले धनधान्याञ्चल बाट प्राप्त सहयोगबाट मुहार फेरेका हुन् । निर्माण सुरु भएको झण्डै ८ वर्ष पछि ताल पोखराले सार्थकता पाएको हो ।

सुरुमा प्रयोग विहिन रहेको खाली पोखरीलाई युवाहरुले फेवाताल जस्तै बनाउने परिकल्पना गरेको तालपोखरा संरक्षण समितिका निवर्तमान अध्यक्ष देवराज देवकोटाले बताए ।

४ बिघा क्षेत्रफलमा फैलिएको तालपोखरामा झण्डै १ करोडको लागतमा फुलबारी सहितको पार्क संगै ताल र तालको बीचमा जलेश्वर महादेवको मन्दिर स्थापना गरिएको छ । सो ताल अवलोकनका लागि अहिले २ वटा डुङ्गा संचालनमा ल्याईएको छ ।

स्थानीयको परिकल्पनाबाट पर्यटकीय स्थलको परिचय दिन सफल ताल पोखरीलाई आगामी दिनमा अझ व्यवस्थित रुपमा विकास गर्दै लैजान सके यस क्षेत्रको पर्यटनमा प्रवद्र्धनमा टेवा मिल्ने देखिन्छ ।