प्रधानमन्त्रीले आज विश्वासको मत लिनुहुने

693
views

काठमाण्डौ, २७ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार आज विश्वासको मत लिँदै हुनुहुन्छ । प्रधानमन्त्रीमा चयन भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्थाअनुसार प्रधानमन्त्रीले विश्वासको मत लिन लाग्नुभएको हो ।

ज्येष्ठ सदस्य (सभामुख) महन्थ ठाकुरले आइतबार ३ बजे प्रधानमन्त्रीले विश्वासको मत लिने कार्यतालिका बैठकमा राख्नुभएको थियो । त्यसअघि आइतबार १ बजे पनि प्रतिनिधिसभा बैठक बस्नेछ । संवैधानिक प्रावधानअनुसार प्रधानमन्त्री ओलीले चैत ३ गतेसम्म विश्वासको मत लिनुपर्ने समयसीमा छ । संविधानको धारा ७६(२) को व्यवस्थाअनुसार गठित बहुमतीय सरकारका प्रधानमन्त्रीले प्रधानमन्त्री चयन भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने व्यवस्था छ ।

धारा ७६(४) ले विश्वासको मतसम्बन्धी व्यवस्था गरेको छ । संवैधानिक व्यवस्थाअनुसार प्रधानमन्त्रीले संसद्मा कायम रहेको सदस्य सङ्ख्याको बहुमत सदस्य पु¥याउनुपर्नेछ । संसद्मा अहिले २७५ सदस्य हुनुहुन्छ । प्रधानमन्त्रीले विश्वासको मतका लागि १३८ सांसद आवश्यक पर्छ । प्रधानमन्त्रीको दल एमालेसँग १२१ सांसद हु्नुहुन्छ । यस्तै, सत्ता साझेदार दल माओवादी केन्द्रका ५३ सदस्य हुनुहुन्छ । एमाले र माओवादी गरेर सरकारलाई सुविधाजनक बहुमत छ । दुई दलका गरी १७४ सांसद छन् ।

प्रधानमन्त्रीलाई प्रतिनिधिसभाको चौथो ठूलो दल राष्ट्रिय जनता पार्टी नेपाल र पाँचौँ ठूलो दल सङ्घीय समाजवादी फोरमले पनि समर्थन गर्ने जानकारी दिइसकेका छन् । यस्तै, संसद्मा प्रतिनिधित्व गर्ने स्वतन्त्र सांसदमध्ये दुर्गा पौडेल र राजेन्द्र लिङ्देनले ओलीलाई साथ दिने जनाउ दिइसकेका छन् ।

प्रतिनिधिसभामा नेपाली काँग्रेसका ६३ सांसद छन् । अन्य दुई स्वतन्त्र सांसदले स्पष्ट धारणा सार्वजनिक गरेका छैनन् । नेपाल मजदुर किसान पार्टीका प्रेम सुवाल र नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले औपचारिक धारणा सार्वजनिक गर्नुभएको छैन । डा. भट्टराई विदेशमा हुनुहुन्छ । काँग्रेस बाहेकका अन्य दलले प्रधानमन्त्रीलाई साथ दिएमा दुई तिहाइका साथ विश्वासको मत प्राप्त हुने समीकरण बनेको छ ।
प्रधानमन्त्रीलाई राप्रपाको साथ
राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिने निर्णय गरेको छ । पार्टीका प्रवक्ता भुवन पाठकले शनिबार जारी गर्नुभएको प्रेस विज्ञप्तिमा राष्ट्रियता र प्रजातन्त्रको संवद्र्धन तथा राजनीतिक स्थिरता, सुशासन, भ्रष्टाचार मुक्त प्रशासन एवम् आर्थिक समृद्धिको अपेक्षा गर्दै प्रधानमन्त्री ओलीलाई समर्थन गर्ने निर्णय भएको उल्लेख छ ।