पूर्वमन्त्री पासवानको साढे ४३ लाख निकासा, कालोबजारमा साट्दाको रकम कटौती

557
views

काठमाण्डौ, ५ चैत । पूर्वजनसंख्या तथा वातावरणमन्त्री विश्वेन्द्र पासवानले उपचारमा ७३ लाख खर्च भएको बिल पेस गरे पनि सरकारले ४३ लाख ४१ हजार मात्रै उपलब्ध गराएको छ । स्वास्थ्य मन्त्रालयले औषधोपचारबाहेकको बिल समावेश नगराएपछि अर्थले ३० लाख कटौती गरेर आइतबार रकम निकासा गरेको हो ।

‘पासवानले हामीलाई तनाव दिएका थिए । हामीले अन्तिममा उनले उपलब्ध गराएको अस्पताल र औषधिको बिलका आधारमा मात्रै पैसा निकासा गर्न अर्थमा पठायौँ,’ स्वास्थ्य मन्त्रालयका एक अधिकारीले भने । ती अधिकारीका अनुसार पासवानले ७३ लाखकै बिल बनाउन अन्तिमसम्म दबाब दिइरहेका थिए ।

२६ असार ०७४ को निर्णयानुसार तत्कालीन जनसंख्या तथा वातावरणमन्त्री विश्वेन्द्र पासवानलाई प्रचलित ऐन–नियमको परिधिभित्र रही उपचारका लागि आर्थिक सहायता उपलब्ध गराउन ४३ लाख ४१ हजार पाँच सय ५२ रुपैयाँ रकम निकासा गरेको अर्थ मन्त्रालयले जनाएको छ ।

सो निर्णयलाई आधार मान्दै पासवानले शिक्षण अस्पताल महाराजगन्ज र भारतको मेदान्त अस्पतालमा उपचार गर्दा ७३ लाख खर्च भएको जनाउँदै तत्काल उपलब्ध गराउन स्वास्थ्य मन्त्रालयमा निवेदनसहित बिल पेस गरेका थिए ।

यस्ता थिए बिलका शीर्षक
भारतीय रुपैयाँ सटही १५ लाख २ हजार ९ सय ९४ । तर, बैंकमा पैसा नपाएकाले कालोबजारमा साट्दा थप चार रुपैयाँ कमिसन तिर्नुपरेकाले सो पैसा पनि सरकारले दिनुपर्ने उनको मागदाबी थियो ।

होटेलमा बसेको, पाउरोटी र चिया खाएको खर्च १८ लाख ७३ हजार ६ सय ।

यातायात खर्च ८ लाख ९१ हजार ५७

काठमाडौंको शिक्षण अस्पतालमा उपचार ७ लाख १६ हजार

भारतको मेदान्त अस्पतालमा उपचार २३ लाख ४८ हजार ४ सय २८