मुख्यमन्त्रीसँग परामर्श गर्न प्रधानमन्त्रीद्वारा बैठक आव्हान

604
views

काठमाडौं, ७ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेशका मुख्यमन्त्रीहरूसँग परामर्श गर्ने उद्देश्यकासाथ आज बैठक आह्वान गरेका छन् । प्रदेश मुख्यमन्त्रीका विविध टिप्पणी सार्वजनिक भइरहेका बेला प्रधानमन्त्री ओलीले त्यसको निराकरणका लागि मुख्यमन्त्रीसँग परामर्श गर्न लागेका हुन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा आज बिहान ११ बजेका लागि बैठक आह्वान गरिएको प्रधानमन्त्रीको कार्यालयले जनाएको छ । छलफलमा एक प्रदेशबाट तीन जना गरी २१ जनाको सहभागिता रहने प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमालले जानकारी दिए ।

मुख्यमन्त्रीसँगै बैठकमा प्रदेश सचिव र मुख्य न्यायाधिवक्तालाई पनि आमन्त्रण गरिएको छ । प्रधानमन्त्रीले एउटै किसिमको कार्यशैली र शासकीय व्यवस्था कायम गर्न मुख्यमन्त्रीसँग परामर्श गर्न बैठक बोलाएको सल्लाहकार रिमालले बताए ।

संविधानको धारा २३२ (२) अनुसार नेपाल सरकारले राष्ट्रिय महत्वका विषयमा प्रदेशबीच समन्वय गर्नुपर्ने भए प्रदेश मन्त्रिपरिषदलाई संविधान र सङ्घीय कानून बमोजिम आवश्यक निर्देशन दिन सक्नेछ र त्यस्तो निर्देशनको पालना गर्नु सम्बन्धित प्रदेश मन्त्रीपरिषदको कर्तव्य हुने व्यवस्था गरिएको छ ।