प्रधानमन्त्री ओलीको पहिलो भ्रमण भारत, २३ चैतदेखि २५ सम्म

354
views

काठमाण्डौ , ९ चैत । प्रधानमन्त्री केपी ओलीले २३ चैतमा भारत भ्रमण गर्ने मिति तय भएको छ । भ्रमण तीन दिन अर्थात् २५ गतेसम्म हुनेछ । प्रधानमन्त्री ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच २४ चैतमा हैदराबाद हाउसमा भेटवार्ता हुने बताइएको छ ।

ओलीले सोही दिन भारतका राष्ट्रपति रामनाथ कोविन्द, उपराष्ट्रपति वैंकया नायडुसहित भारतीय उच्च अधिकारीसँग भेटवार्ता गर्ने कार्यक्रम समेत तय भएको छ । प्रधानमन्त्री ओली २५ चैतमा स्वदेश फर्किने कार्यक्रम छ । तर, दुवै देशले औपचारिक रूपमा भ्रमणको मिति घोषणा गरेका छैनन् ।

दोस्रोपटक प्रधानमन्त्री भएका ओलीलाई भारतीय प्रधानमन्त्री मोदीले तीनपटक फोनबाट मौखिक निमन्त्रणा दिएका छन् भने केही दिनअघि कूटनीतिक च्यानलबाट औपचारिक पत्र पठाएका छन् । ओली प्रधानमन्त्री हुनुअघि नै ७ पुस र ६ माघमा भारतीय प्रधानमन्त्री मोदीले टेलिफोन वार्ता गरेका थिए । भारतीय राजदूत मञ्जीवसिंह पुरीको सहजीकरणमा टेलिफोन वार्ता भएको थियो ।