लालुलाई अर्को झड्काः चारा घोटालाको चौथो मुद्दामा १४ वर्ष जेल सजाय

701
views

एजेन्सी नयाँदिल्ली, ११ चैत । चारा घोटाला प्रकरणमा भारतको विशेष सिबिआई अदालतले राष्ट्रिय जनता दल (आरजेडी)का अध्यक्ष तथा बिहारका पूर्वमुख्यमन्त्री लालुप्रसाद यादवलाई १४ वर्षको जेल सजाय सुनाएको छ ।

चारा घोटाला प्रकरणकोे चौथो मुद्दामा लालुलाई विशेष अदालतले शनिबार सो सजाय सुनाएको हो । अदालतले लालुलाई ६० लाख भारु जरिवाना पनि तोकेको छ । मुख्यमन्त्री हुँदा सन् १९९५ देखि १९९६ को अवधिमा दुम्का कोषबाट तीन करोडभन्दा बढी रकम हिनामिना गरेको सम्बन्धमा अदालतले सो सजाय सुनाएको हो । यसअघि सोमबार अदालतले उनलाई दोषी ठहर गरेको थियो ।

विशेष अदालतमा चारा घोटाला प्रकरणमा जोडिएका ३१ आरोपीहरूको बहस चलेको थियो । अहिलेसम्म ६ मध्ये चार मुद्दाको फैसला भएको छ । तीन मुद्दामा दोषी ठहर भइसकेका लालु चार महिनादेखि जेल सजाय काटिरहेका छन् । गत वर्षको डिसेम्बर २३ मा चारा घोटाला प्रकरणको तेस्रो मुद्दामा सिबिआईले दोषी ठहर गरेपछि लालुलाई राँचीस्थित बिर्सा मुन्डामा जेलजीवन बिताइरहेका छन् ।

भारतको पेनल कोड (आइपिसी) र भ्रष्टाचार नियन्त्रण ऐनबमोजिम लालुलाई सात–सात वर्षको दुईवटा जेल सजाय तोकेको सिबिआई न्यायाधीश शिवपाल सिंहले बताए । उनका अनुसार लालुलाई एउटा सजाय पूरा भएपछि अर्को सजाय सुरु हुनेछ । लालुका वकिल प्रभावत कुमारले सिबिआईको फैसलाविरुद्ध उच्च न्यायालयमा निवेदन गर्ने बताए । यसैबीच, भारतीय जनता पार्टीकै निर्देशनमा फैसला भएको आरजेडीले जनाएको छ ।

६९ वर्षीय लालुसहित दोषी ठहरिएका सबै १९ जनाविरुद्ध तीन दिनसम्म सुनुवाइ भएको थियो । २१ देखि २३ मार्चसम्म चलेको सुनवाइपछि सिबिआईले शनिबार सजायको घोषणा गरेको थियो ।

आरजेडीका सर्वोच्च नेतासमेत रहेका लालुको राँचीस्थित राजेन्द्र इन्स्टिच्युट अफ मेडिकल साइन्स (आरआइएमएस)मा उपचार भइरहेको छ । छातीमा समस्या र जेलमा असहज भएको गुनासो गरेपछि उनलाई गत साता सो अस्पताल भर्ना गरिएको थियो ।

विशेष अदालतले चारा भ्रष्टाचारमै मुछिएका केही आरोपीलाई सफाइ दिएको छ । पूर्वमुख्यमन्त्री जगन्नाथ मिश्रालाई अदालतले रिहाइ गरेको छ । यसैगरी, विमलकान्त दास झा, एमसी सुवर्णा र ध्रुव भगतले पनि सफाइ पाएका छन् । अरुण सिंह, विमलकान्त, ओप दिवार र आनन्द कुमारजस्ता आरजेडीका नेताहरू भने दोषी पाइएका छन् । अहिलेसम्म अदालतले १९ व्यक्तिलाई दोषी ठहर गरेको छ ।

सिबिआईको विशेष अदालतमा लालुप्रसाद सोमबार अस्पतालबाटै पुगेका थिए । आइतबार अचानक स्वास्थ्य खराब भएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो । आफ्नो कमजोर स्वास्थ्य अवस्थाको कारण देखाउँदै क्षमायाचना गरे पनि अदालतले उनको अपिल अस्वीकार गरेको थियो ।