राष्ट्रपतिद्वारा संघीय संसदलाई संबोधन गर्ने मिति तय

787
views

काठमाडौं, १३ चैत । राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार संसद्लाई सम्बोधन गर्ने समय तय गरिएको छ । संघीय संसद्को पहिलो अधिवेशनमा दुवै सदनको संयुक्त बैठकलाई राष्ट्रपतिले सम्बोधन गर्नुपर्ने संवैधानिक व्यवस्थाअनुसार समय तय गरिएको हो ।

सोमबारको प्रतिनिधिसभा बैठकमा सभामुख कृष्णबहादुर महराले १५ चैत अपराह्न ४ बजे बस्ने दुवै सदनको संयुक्त बैठकलाई राष्ट्रपतिले सम्बोधन गर्ने बताए । राष्ट्रपतिले सम्बोधन गर्ने मिति सोमबारकै मन्त्रिपरिषद् बैठकले तोकेको थियो ।

१० र २१ मंसिरमा प्रतिनिधिसभाको निर्वाचन भएको थियो भने २४ माघमा राष्ट्रिय सभाको निर्वाचन भएको थियो । गत २१ फागुनमा दुवै सदनको पहिलो बैठक बसे पनि पहिलो अधिवेशनभरको कुनै बैठकलाई राष्ट्रपतिले सम्बोधन गर्नुपर्ने हुन्छ । सोहीबमोजिम राष्ट्रपति भण्डारीले बिहीबार संसद्लाई सम्बोधन गर्न लागेकी हुन् ।