कांग्रेस नेता खुम बहादुर खड्काको पार्थिव शरीर पार्टी कार्यालयमा

1111
views

काठमाण्डौ, १८, चैत । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीका दिवंगत नेता खुमबहादुर खड्काप्रति श्रद्धाञ्जलि व्यक्त गर्नुभएको छ ।

आज ललितपुर, सानेपास्थित नेता खड्काको निवास पुगेर सभापति देउवाले उहाँको पार्थिव शरीरमाथि श्रद्धाञ्जलि अर्पण गर्नुभएको हो ।

कांग्रेस केन्द्रीय सदस्य, पार्टीका पूर्वमहामन्त्री तथा पूर्वमन्त्री नेता खड्काको उपचारका क्रममा शुक्रबार साँझ भारतको नयाँदिल्लीस्थित एपोलो अस्पतालमा ६७ वर्ष उमेरमा निधन भएको हो । उहाँ मिर्गौला र छातीको संक्रमणबाट पीडित हुनुहुन्थ्यो ।

उहाँको पार्थिव शरीर शनिबार राति नेपाल ल्याई सानेपास्थित उहाँकै निवासमा राखिएको थियो । यसअघि आज बिहान कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल तथा नेता कृष्णप्रसाद सिटौला, विमलेन्द्र निधि, डा. प्रकाशशरण महत, डा. शेखर कोइरालालगायतले सानेपा पुगी नेता खड्काप्रति श्रद्धाञ्जलि व्यक्त गर्नुभएको थियो ।

नेता खड्काप्रति श्रद्धाञ्जलि व्यक्त गर्न बिहानैदेखि उहाँको निवासमा कांग्रेसका सयौंँ नेता कार्यकर्ताको ठूलो भीड लागेको थियो । उहाँको पार्थिव शरीर श्रद्धाञ्जलिका लागि यतिबेला पार्टी केन्द्रीय कार्यालय सानेपामा राखिएको छ भने आजै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिँदैछ ।

कांग्रेस पार्टी कार्यालयले जनाएअनुसार उहाँको पार्थिव शरीरलाई आज दिउँसो १ बजे श्रद्धाञ्जलिका लागि पार्टी केन्द्रीय कार्यालय सानेपामा राखिने र त्यसपछि आजै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने छ ।

बेलायतमा उच्च शिक्षा अध्ययनरत नेता खड्काका सुपुत्र अनुराग खड्का आज नेपाल आएपछि अन्तिम संस्कार गरिनेछ ।