यार्सागुम्बाले बनेको सहर

575
views

बझाङ, १९ चैत । गरिबी र मानव विकास सूचकांकमा पुछारतिर रहेको बझाङको सदरमुकाम चैनपुरमा रोजगारीको आधार पनि छैनन् । यहाँका धनी महेन्द्रनगर, धनगढी, नेपालगन्ज, काठमाडौंतिर र गरिब मजदुरीका लागि भारततिर लाग्छन् । तैपनि, एक दशकमै चैनपुरको स्वरूप फेरिएको छ ।

कसरी परिवर्तन भयो ? सदरमुकाम चैनपुरसहितको जयपृथ्वी नगरपालिका निमित्त प्रमुख शेरबहादुर विष्टले भने, ‘यार्सागुम्बाले चैनपुर उँलाई सहर बनाइदियो, अहिले बल्ल सदरमुकामजस्तो भएको छ ।’

यार्सागुम्बाको व्यापारले चैनपुरको आर्थिक गतिविधि मात्रै बढाएको छैन, दैनिक उपभोग्य वस्तुहरूको उपलब्धतालाई पनि सहज बनाएको छ । दुर्गम क्षेत्रका बासिन्दाको रोजाइ पनि चैनपुर बन्न थालेको विष्टको भनाइ छ । सुनसान रहने चैनपुर गुल्जार बन्दै गएको छ ।

झुपडी हटाएर पक्की घर

उत्तरी क्षेत्रका बासिन्दा हरेक वर्ष वैशाखदेखि असारसम्म हिमालतिर गएर यार्सागुम्बा संकलन गर्छन् । एक किलोग्राम यार्सा १८ देखि २४ लाखसम्ममा बिक्री हुन्छ । प्रत्येक परिवारले वर्षमा कम्तीमा १० लाख कमाउने गरेका छन् । त्यही पैसाले चैनपुरमा घडेरी खरिद गर्ने र घर बनाउने चलन बढेको नगरपालिकाका निमित्त प्रमुख विष्टले बताए ।

चैनपुरमा ठाउँ हेरेर प्रतिवर्ग्मिटर १० देखि ५० हजार रुपैयाँ पर्छ । घडेरी किनेर एकतले पक्की घर बनाउन १८ देखि २० लाख रुपैयाँसम्म लाग्ने गरेको छ । नयाँ बनेका सबै घर पक्की रहेको नगरपालिकाले जनाएको छ । अहिले चाररपाँचतले पक्की घर बन्न थालेका छन् । नगरपालिकाको तथ्यांकअनुसार, एक दशकअघि २७ परिवार बस्दै आएको चैनपुरमा अहिले सात सयभन्दा बढी परिवार बस्छन् ।

निजी आवासीय भवनसँगै होटल, पसल, विद्यालय, स्वास्थ्य संस्था, सरकारी कार्यालय निर्माण भएका छन् । दुर्गम गाउँको तुलनामा चैनपुरमा शिक्षा, स्वास्थ्य, यातायात, सञ्चारलगायतका आभारभूत आवश्यकता परिपूर्तिका लागि सहज भएकाले चहलपहल बढेको विष्टको भनाइ छ । प्राकृतिक रूपमा पनि चैनपुर सुन्दर छ । सेती नदी र बाउली खोलाबीचमा रहेको चैनपुर टापुकै रूपमा रहेको छ ।

यसरी फेरियो चैनपुर

सशस्त्र द्वन्द्वको समयमा चैनपुर र नजिकका बासिन्दा तराईतिर बसाइँ सर्न थालेपछि सुनसान बन्दै गएको थियो । त्यसपछि पनि आर्थिक रूपमा सम्पन्न स्थानीय बासिन्दाको रोजाइ महेन्द्रनगर, धनगढी, नेपालगन्ज र काठमाडौं बन्दै आएको छ ।

तर, बझाङका दुर्गम क्षेत्रका बासिन्दा यार्सागुम्बाले आर्थिक रूपमा सबल बन्दै गएपछि चैनपुर आउन थालेका हुन् । ‘छोराछोरी पढाउन, उपचार गर्न, मीठोमसिनो खरिद गर्न यतै आउनुप(यो,’ दुर्गम दौलीचौर गाउँका ज्ञानबहादुर बोहराले भने ।

उनले यार्सागुम्बाको व्यापारबाट कमाएको पैसाले चैनपुरमा घडेरी खरिद गरेर घर बनाइसकेका छन् । दौलीचौरका एक सय ५० भन्दा बढी परिवारले चैनपुरमा घडेरी किनिसकेको उनले बताए । ‘गाउँमा पनि घरजग्गा छ, यता पनि किन्यौँ,’ उनले भने ।

प्रायः यार्सागुम्बाको व्यापार हुने दौलीचौर, दाँतोला, कोटदेवल, कैलाश, काँडा, दहबगर, लेकगाउँका बासिन्दा चैनपुर झर्ने गरेका हुन् । सुर्माका टेकबहादुर बोहराले भरखरै दुईतले घर बनाएको बताए । ‘तीन सिजनको यार्साको कमाइले चैनपुरमा घडेरी किनेर घर बनाउन पुग्यो,’ उनले भने । यार्सागुम्बाकै आम्दानीले वर्षभरि पुग्ने खानपिनको जोहोसमेत हुने गरेको बताए । स्रोत नयाँपत्रिका