दिल्लीबाटै पेट्रोलियम पाइपलाइनको सिलन्यास

625
views

काठमाण्डौ, २४ चैत । प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आज (शनिबार) संयुक्त रुपमा पेट्रोलियम पाइपलाइनको सिलन्यास गर्ने कार्यक्रम तय भएको छ ।

मोतिहारीदेखि अमलेखगञ्जसम्मको पेट्रोलियम पाइपलाइनको सिलन्यास दिल्लीबाटै स्विच थिचेर गर्ने कार्यक्रम तय भएको जनाइएको छ । नेपालको राष्ट्रिय गौरव आयोजनामा सुचिकृत पेट्रोलियम पाइपलाइनको सिलन्यासका लागि इन्डियन आयल कर्पोरेसन (आईओसी) ले कार्यसूची कार्ड तयार पारेको छ ।

भारतबाट सोझै नेपालको अमलेखगञ्जको डिपोसम्म कुनै अवरोध बिना नै इन्धन ओसार्न सो पाइपलाइन निर्माण गर्न लागिएको हो । आईओसीले अघि सारेको रक्सौलदेखि अमलेखगन्जको पाइपलाइनको योजना परिवर्तन गरेर अहिले मोतिहारी–रक्सौल–अमलेखगन्जको रुट तय भएको हो ।

आईओसी र निगमले संयुक्त रुपमा पहिलो चरणमा पथलैया–परवानीपुर सडक खण्डबाट पाइप लाइन ओछ्याउने काम सुरु गर्ने कार्यतालिका बनाएको छ । पथलैया–परवानीपुर सडक खण्डमा सबै बाधा क्लियर भइसकेकाले पहिलो चरणमा त्यही रुटबाट ओछ्याउने काम सुरु गर्ने भनेर तयारी गरिएको हो ।

भारतको रक्सौलस्थित नेपाल भारत सीमादेखि अमलेखगञ्ज डिपोसम्मको कूल दुरी ३६.६ किलोमिटर छ । उक्त पाइपलाइनबाट प्रति घण्टा दुई लाख लिटर इन्धन अमलेखगञ्जको डिपोमा खसाल्ने लक्ष्य छ । यसरी पाइपलाइनबाट आउने इन्धन अमलेखगन्जको डिपोको ३९ लाख लिटर क्षमताको सात र सोही क्षमताको आठ नम्बरको ट्यांकीमा गरी ७८ लाख लिटर मौज्दात गर्ने लक्ष्य छ ।

यसैगरी ४१ लाख लिटर क्षमताको ९ र ११ नम्बरको ट्यांकीमा गरी ८२ लाख लिटर भण्डारण गर्ने योजना छ । दोस्रो चरणमा अमलेखगन्जको डिपोसँगै टाँसिएको वन क्षेत्रले ढाकिएको जग्गा अधिग्रहण गरी ३३. ६ हेक्टरमा अर्को भण्डारण गृह निर्माण गरिनेछ ।

पाइप लाइन निर्माणका लागि करिब ४ अर्ब ४० करोड रुपैयाँ लाग्ने छ । यसमध्ये तीन अर्ब १९ करोड ४९ लाख ३२ हजार चार सय ६५ रुपैयाँ भारतले र नेपालले एक अर्ब १९ लाख ८० हजार ५९ हजार पाँच सय ८९ रुपैयाँ नेपाली पक्षले व्यहोर्नु पर्ने सम्झौतामा उल्लेख छ ।

गत २०७२ भदौ ७ गते तत्कालीन वाणिज्य तथा आपूर्तिमन्त्री सुनिलबहादुर थापा र भारतका तर्फबाट पेट्रोलियम तथा प्राकृतिक ग्यास मन्त्री धर्मेन्द्र प्रधानले सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए । आईओसी टोलीले पाइपलाइनको निर्माण कार्य सुरु भएको ३० महिनामा सम्पन्न गरेर नेपाल सरकारलाई हस्तान्तर गर्नेछ ।