प्रदेश ३ लाई कृषि, पर्यटन र औद्योगिक केन्द्रको रुपमा विकास गछौं– मुख्यमन्त्री पौडेल

1071
views

चितवन २४ । प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश ३ लाई कृषि, पर्यटन र औद्योगिक केन्द्रका रूपमा विकास गर्न खोजिएको बताएका छन् ।

चितवन उद्योग संघले भरतपुरमा सुरु भएको पाँचौं औधोगिक मेलालाई संबोधन गर्दै पौडेलले प्रदेश ३ मा कृषि, पर्यटन र उद्योग तीनवटै क्षेत्रमा राम्रो सम्भावना रहेकाले तीनवटै कामलाई प्राथमितामा राखेर अघि बढ्ने बताए ।

उनले ‘शक्तिखोरमा स्थापना हुँदै गरेको आद्योगिक क्षेत्रले चितवनसहित समग्र प्रदेश नम्बर ३ कै विकासमा थप टेवा पुग्ने विश्वास लिएको बताए ।

उनले रोजगारी सिर्जना नभएसम्म मुलुक र प्रदेश समृद्ध नहुने भन्दै आर्थिक विकासका लागि आमनागरिक उत्पादनमा लाग्नुपर्नेमा जोड दिए । कार्यक्रममा कृषि, सहकारी तथा भूमि व्यवस्था मन्त्री दावा दोर्जे लामाले प्रदेश ३ कृषि र पर्यटनको विकासको नमूना प्रदेश बन्ने विश्वास व्यक्त गरे ।

प्रदर्शनी आयोजक चितवन उद्योग संघका अध्यक्ष भेषराज दुवाडीले चितवनमा उद्योग, पर्यटन र कृषिको विकास र प्रवद्र्धनका लागि प्रदर्शनी आयोजना गरिएको बताए ।

‘दिगो आर्थिक विकासका लागि औद्योगिक प्रवद्र्धन’ भन्ने मूल नाराका साथ सुरु भएको प्रदर्शनी पाँच दिनसम्म चल्नेछ ।