पर्यटन समयले म्याग्दीमा पर्यटकको चहलपहल बढ्यो

341
views

बेनी, म्याग्दी ९, चैत । उच्च पहाडी जिल्ला म्याग्दीमा आन्तरिक तथा बाह्य पर्यटकको आवागमनमा वृद्धि हुँदै गएको छ । चालु वर्षको जाडो समय सकिएर गर्मीयामको पर्यटन समय शुरु भएपछि भ्रमणमा आउने पर्यटकको चहलपहल बढेको हो ।

म्याग्दी जिल्लाको भ्रमण गर्न आउने पर्यटकहरु अधिकांश सडकमार्ग भएर आउने गरेका छन् । जिल्लामा पर्वतको मालढुङ्गा हुँदै सदरमुकाम बेनी, पश्चिमको दरबाङ, बागलुङदेखि रत्नेचौर र उत्तरी भूरुङ–तातोपानी नाका भएर म्याग्दीको भ्रमणमा आन्तरिक तथा बाह्य पर्यटकहरु आउने गरेका छन् ।

यसैगरी कतिपय पर्यटक टे«किङ एजेन्सीमार्फत सिधै हवाई मार्ग भएर जिल्लाको भ्रमणमा आउने गरेका छन् भने हिमालपारीको जिल्ला मुस्ताङबाट समेत पर्यटकहरु यहाँ भित्रिने गरेका छन् ।

जिल्ला भ्रमण गर्न भित्रिने बाह्य पर्यटकहरुको तथ्याङ्क प्रहरीसँग रहे पनि आन्तरिक पर्यटकहरु कति भित्रिन्छन् ? भनेर कुनै सरकारी वा गैरसरकारी निकाय तथा संघसंस्थासंग तथ्याङ्क छैन । बेनीका होटल व्यवसायीका अनुसार जिल्लामा बाह्यभन्दा आन्तरिक पर्यटक धेरै आउने भए पनि आधिकारिक तथ्याङ्क कसैसँग रहेको छैन ।

विगतका वर्षको तुलनामा यो समयमा पर्यटकको आवागमनमा कमी आएको होटल याक एण्ड रेष्टुरेण्टका सञ्चालक बाबुराम आचार्यले बताउनुभयो । म्याग्दीमा युरोपियन, अमेरिकन, इटालीयन, इन्डियनका साथै नेपालको पूर्वी, मध्य र पश्चिम क्षेत्रका पर्यटक बढी आउने गरेका छन् ।

म्याग्दीमा आउने पर्यटकको लागि सुरक्षा सँगै उनीहरुलाई परेको समस्याको तत्कालै उद्धारका लागि आवश्यक कदम चाल्ने गरिएको म्याग्दीका प्रहरी नायब उपरीक्षक बसुन्धरा खड्काले बताउनुभयो ।

चालु आर्थिक वर्षको पहिलो आठ महिनामा कुल २६ हजार ५१८ जना पर्यटकले म्याग्दीको भ्रमण गरेको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । तीमध्ये १३ हजार ९७६ पुरुष र १२ हजार ५४२ महिला छन् ।

गतवर्ष ६९ हजार ८१६ जनाले जिल्लाको भ्रमण गरेको प्रहरीले जानकारी दिएको छ । म्याग्दी भ्रमणमा आउने अधिकांश पर्यटकहरु घोरेपानी, पुनहिल, खोप्रालेक, महरेडाँडा, राउण्ड धौलागिरी र अन्नपूर्ण पदमार्गमा यात्रा गर्ने तथा धौलागिरी बेसक्याम्प र धौलागिरी–अन्नपूर्ण हिमाल आरोहण गर्न आउने गरेका छन् ।