आफ्नै वीर्य प्रयोग गरेर दर्जन महिलालाई गर्भवती बनाउने डाक्टर विरुद्ध मुद्दा

849
views

एजेन्सी ओटोवा, २ वैशाख । प्रजननसम्बन्धी एक क्यानेडेली चिकित्सकले निसन्तान दम्पतीलाई उपचार गर्ने बहानामा आफ्नै वीर्य प्रयोग गरेको आरोप लागेको छ । सो आरोपमा एक दर्जन महिलाले उनीविरुद्ध मुद्दा हालेका छन् । अस्पतालमा उपचार गर्न आउने महिलाकी छोरीका पिता स्वयं उपचारमा संलग्न डाक्टर नोरम्यान ब्राबिन भएको डिएनए परीक्षणबाट खुलासा भएपछि गत नोभेम्बरमा एक महिलाले उनीविरुद्ध उजुरी हालेकी थिइन् । त्यसपछि एकपछि अर्को गर्दै अहिलेसम्म ११ महिलाले नोरम्यान नै आफूहरूले जन्माएका बच्चाको असली पिता भएको भन्दै उनीविरुद्ध मुद्दा दायर गरेका छन् ।

नोभेम्बरमा ड्यानियल र डेविना डिक्सनसँग मिलेर उनकी छोरी रिबेकाले डाक्टरविरुद्ध उजुरी दर्ता गरेपछि यो घटना बाहिर आएको थियो । डा. ब्राबिनका वकिल करिन ह्याम्वेले नोरम्यानमाथिका आरोपबारे प्रतिक्रिया जनाउन अस्वीकार गरेका छन् । ११ महिलाले आफूहरूका सन्तानको पिता नोरम्यान भएको डिएनएबाट पुष्टि भएको उनीहरूका वकिलहरूले बताएका छन् । डा. नोरम्यानविरुद्ध उजुरी गर्नेमा ओटावा र ओन्टारियाका दुई प्रजनन क्लिनिकमा उपचार गरेका बिरामीसमेत छन् ।

अर्को एक मुद्दामा १६ जना मानिसले तिनको सन्तानको असली पिता आफूले छानेको पतिभन्दा फरक भएको पत्ता लागेको भन्दै नोरम्यानविरुद्ध उजुरी गरेका छन् । डिएनए टेस्ट गराउँदा सन्तानसँग आफ्ना वास्तविक बाबुसँग मेल नखाएको महिलाहरूको गुनासो थियो । त्यस्तै, ३५ अन्य महिलाले आफूले छनोट गरेको वीर्यसँग तिनको सन्तानको डिएनए मेल नखाएको भन्दै नोरम्यानविरुद्ध उजुरी गर्ने तयारी गरेका छन् ।

उनीहरूको जैविक पिता को हो भनेर पत्ता नलागिसकेको निवेदकका वकिलहरूले बताएका छन् । डा. नोरम्यानविरुद्ध १९७० को समयदेखि उजुरी परेको थियो । ओटावास्थित आफ्नो क्लिनिकमा आफ्ना बिरामीलाई गलत वीर्यबाट कृत्रिम गर्भाधारण गराएको आरोपमा डा. नोरम्यानलाई प्रतिबन्ध लागेको थियो । यसैबीच नोरम्यानविरुद्ध लागेका कुनै पनि आरोप अदालतबाट पुष्टि भइसकेको छैन । उनीविरुद्धका आरोपबारे अदालतमा सुनुवाइ भइरहेको छ ।