कथाः– मेरो आमा (माता तिर्थ बिशेष)

761
views

–राजकुमार श्रेष्ठ
हामी त्यति खेर काठमाडौको चाबहिलमा डेरा गरेर बस्थ्यौ । बाबा एउटा अफिसमा काम गर्नुहुन्थ्यो । बाबाले कमाएको पैसाले परिवार राम्रोसँग चलिरहेको थियो । त्यसैले हामी सबै जना खुशी नै थियौं ।

तर केही दिन अघि देखि बाबाको घरायसी ब्यवहारमा परिवर्तन देखा पर्न थालेको थियो । कारण, एक दिन बाबाले घरमा आमासँग झगडा गर्नुभयो । अनि भोलिपल्टै बाबाले सौतेनी आमा लिएर भाग्नु भएछ जुन कुरा पल्लो कोठाको आन्टीबाट थाहा भयो । स्वर्ग जस्तो परिवारबाट बाबाले हाम्रो खुशी खोसेर लानु भयो । मेरो आमा केही बोल्न नसकेर रूनु भयो । धेरै बेर सम्म रोइरहेको देखेर आमालाई मैले सम्झाए तर यो मन अडिएन । त्यसैले म पनि आमा सँगसँगै रोएँ । त्यसपछि सानो भाइ पनि हामी सगै आएर रोइदियो । आमाले रूँदै भाइलाई भन्नू भयो, तँ पनि त त्यसकै बीउ होस, ठूलो भएर तँ पनि बुढीलाई यस्तै गर्लास् ।“ “ भाइ बच्चै छ, त्यसो नभन्नु न आमा “ मैले आमालाई भने । तपाईंलाई पाल्ने हामी छँदैं छौं नि । हामी तपाइँलाई खुशी नै खुशी दिएर पाल्छौ ।

त्यतिबेला म सरकारी स्कुलको कक्षा दशमा पढ्थे । भाइ बोर्डिङ स्कुलमा कक्षा पाँचमा पढ्थ्यो । । मलाई एस. एल. सी. पास गरेर कलेज पढ्ने चाहना त धेरै थियो तर मैले स्कुल पढ्न छोडिदिए किनभने भाइलाई राम्रोसँग धेरै पढाएर असल मान्छे बनाउनु थियो । आमाको आँखामा आँसु पुछेर खुशी भर्नु थियो। बाबालाई देखाएर गरिखानु थियो ।

भाइलाई राम्रोसँग पढाउन म एउटा सहकारी संस्थामा काम गर्न थाले । “तिमीले किन पढ्न छोडेको, सानी ? कम्तीमा एस. एल.सी. त पास गर । “भनेर सहकारी संचालक समितीको अध्यक्षले भनेपछि मैले पुनस् पढाई शुरू गरेर एस. एल. सी. पास गरे ।

एक दिन म दोकानबाट बचत पैसा संकलन गरेर अफिस फर्कन्दै थिए । पत्रीका बेच्ने एउटा भाइले “ सडक दुर्घटनामा घुँडा फुक्लेर बिरामी अस्पतालमा “ भन्दै पत्रीका बेचिरहेको थियो । पाँच रूपैयाँ दिएर मैले पनि एउटा पत्रीका किनें । पत्रीकाको पहिलो पेजमै घुँडा फुक्लिएर झुन्डिरहेको अवस्थामा मेरो बाबाको तस्वीर देखें । पत्रीका सरसर्ती हेरेपछि मलाइ एकाएक रूनु आयो फेरि हाँस्न पनि मन लाग्यो । घर पुगेर राम्रोसँग पढ्ने भन्दै बिस्तारै पत्रीका पट्याएर ब्याग भित्र हाले । त्यसपछि त्यहाँ बाट अफिस गएँ ।

म अफिसबाट कोठामा गएँ । कोठामा पुगेर खाना खाइ सकेपछि बेलुका आमालाई त्यो घटनाको बारेमा खबर सुनाएँ । बाबाको फोटो पनि आमालाई देखाएँ । आमाले एक टकको नजरले हेरिरहनु भयो । आमा फोटो हेर्दाहेर्दै आत्तिनु भयो । बेहोस भएर भुइँमा ढल्नु भयो । त्यो देखेर म डराएँ । अनि पल्लो कोठाको आन्टीलाई पनि आमा बेहोस भएको कुरा सुनाएँ । हामी दुई जना भएर आमालाई अस्पताल लिएर गयौं । डाक्टरले भन्यो, “ ब्लड प्रेसर लो भएर यस्तो भएको हो ।“ डाक्टरले पेसर नर्मल हुने केही दबाइ दियो । आमालाई केही हल्का भए पछि आधारातमै घर फर्काएर ल्यायौं । त्यहाँ उपरान्त आमालाई उच्च रक्तचाप कहिले घट्ने र कहिले बढ्ने हुँदै झन २ सताउन थाल्यो ।

एक शनिबारको दिन थियो । म बिहान लुगा कपडा धोइरहेको थिए । आमा खाना बनाउदै हुनुहुन्थ्यो । एक्कासी चक्कर लागेर आमा फेरि भुइँमा लड्नु भएछ । भाइले हतारिन्दै मलाइ बोलायो । म कोठामा आएर आमालाई उठाएँ अनि फेरि अस्पताल लगें । यो पल्ट त ब्लड प्रेसर हाइ भएर टाउकाको एउटा नसा नै फुटेछ । आमालाई बचाउन हामीले धेरै प्रयास गर्यौ । तर सोचे जस्तो भएन हाम्रो आमा प्रेसर हाइको कारण नसा फुटेर बित्नु भयो । म रोएँ, कराएँ, चिच्याएँ । भाइले मलाई नरूनु दिदी भन्दै थियो । भाइले मेरो ब्यागमा भएको मोबाइल झिकेर घर र मावलमा फोन गरेछ । मूल घर र मावलबाट आन्टी, मामा, माइजुहरू सबैजना मिलेर दुई गाडी मान्छेहरू लिएर आउनु भयो । हामी सबै जना भएर आमालाई पशुपतिमा दाह संस्कार गर्यौ ।

त्यसपछि हामी दिदीभाइ बाउ आमा बिनाको टुहुरा भयौं । हाम्रो लागि ममताको छहारी टुट्यो । एउटा बाउ थियो त्यै बाउ पनि सौतेनी आमाको भइ सकेको थियो । हामी माया ममता बिनाको टुहुरा संन्तान भयौं । हामीलाई मामा माइजुले गाउँ फर्क जाँउ हिंड भन्नू भयो । तर त्यस पछि मलाई गाउँ फर्किन मन लागेन । मैले त्यही सहकारीमा काम गर्दै भाइलाई बोर्डिङ स्कुलमा पढाउदै रहे ।

आज माता तिर्थे औशीको दिन हो । उनै जन्म दिने मेरो आमाको सम्झना मन भरी भरी आइरहेको छ । आमा हुनेहरूले त आमाको साथमा रहेर माया, ममता साटासाट गर्छ्न । पोहोर साल आमाबुबालाई एकै ठाउँमा राखेर हाँसी खुशीका साथ पूजा गरेका थियौ । मिठा मिठा पकवान्न र मिठाईहरू खाँदै रमाइलो गरेका थियौ । आज आमा हाम्रो साथमा भैदिएको थियो भने ..कस्तो क्षण हुन्थ्यो होला ? आज त्यो दिनको यादले धेरै धेरै सतायो ।

मैले पनि सुनेको थिए, आमा नहुनेहरूले मृतकको नाममा अञ्जुली पानीको तर्पण दिन्छन रे । त्यसैले म पनि आज जन्म दिने आमाको नाम र सम्झना तामाको दियोमा तेल बाती बालेर उज्यालो बनाउछु । त्यसपछि फूलै फूलको गुच्छाहरूले मनै देखि श्रद्धा पूर्बक श्रद्धाञ्जली दिन्छु । आमालाई अञ्जुली पानीको तर्पण दिनेछु । मेरो आमा तपाइँ जहाँ भए पनि तपाइँको आत्माले सधै भरी सुख शान्ति पाओस । भाव पूर्ण हार्दिक श्रद्धाञ्जली छ ।
मैले त्यो पनि सुनेको छु, मूल घर पछिको खुशी मावली हो रे । मावलबाट नै अलिकता धेरै माया, ममता पाइन्छ रे । हुन त जन्म दिने आमाको जस्तो माया कहाँ हुन सक्ला र ? तर पनि मन बुझाउनको लागि आज हामी दिदी भाइ मावलको हजुरआमाको मुख हेर्न जादैछौं । दोहा । -समाप्त-