देउवाको घोषणाः ओलीको राष्ट्रवाद दिल्लीमा पुगेपछि लम्पासारवाद

725
views

हेटौंडाः नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई लम्पासरवादीको आरोप लगाएका छन् ।

नेपाल तरुण दल केन्द्रीय समितिको आयोजनामा सोमबार हेटौंडामा भएको ३ नम्बर प्रदेशस्तरीय प्रशिक्षणको उद्घाटन समारोहलाई सम्बोधन गर्दै देउवाले ओलीको राष्ट्रवाद भारतमा पुगेर लम्पासरवादमा परिणत भएको दावी गरे । ‘ओली कहिले राष्ट्रवादी थिएनन् । उनको राष्ट्रवाद अहिले भारत पुगेर लम्पसारवादमा पुगेर टुंगिएको छ’, देउवाले भने ।

नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री ओलीप्रति खनिएका देउवाले प्रश्न गर्दै भने, ‘लम्पसरावादलाई राष्ट्रवाद भन्ने रु’ उनले कांग्रेसमात्र राष्ट्रवादी पार्टी भएको दावी गरे । ‘हिमाल, पहाड र मधेशलाई मिलाएर अगाडि बढ्न सक्ने भनेको कांग्रेस हो । देशलाई एकताको सुत्रमा बाँध्ने पार्टी भनेकै कांग्रेस हो । त्यसकारण राष्ट्रिय एकता नै राष्ट्रवाद हो भनेर बुझ्न जरुरी रहेको छ’, देउवाले भने ।

उनले कांग्रेस अन्तरघात र बाम गठबन्धनको कारण दोस्रो पार्टी भएको दावी गरे । ‘हारको पहिलो कारण भनेको अन्तरघात हो । हामीले खुलेआम टिकट नपाएपछि अन्तरघात गरेर अघि बढ्दा यस्तो अवस्था सिर्जना भयो । नत्र हामी अझै २० सिट जित्न सक्थ्यौं’, उनले पार्टीभित्र अनुशासन कायम गरेर अगाडि नबढेसम्म पार्टीले बहुमत ल्याउन नसक्ने दावी गरे ।

‘निर्वाचनमा सवैले टिकट पाउँदैनन् । टिक पाउनेलाई जिताउन लाग्न छाडेर अन्तरघात गर्ने प्रवृत्ति कांग्रेसमा नहटेसम्म बहुमत ल्याउन गाह्रो हुन्छ । पार्टीमा अनुशासन कायम गर्दै अन्तरघातीलाई कारबाही गरेर म कुनै पनि हालतमा पार्टीलाई बहुमतमा ल्याएर छाड्नेछु’, देउवाले भने ।

‘दुई पार्टी मिलेपछि केही सिटमा कमी भएको हो । केन्द्रीय कार्यसमितिमा छलफल भइरहेको छ । संविधान कार्यान्वयन नभएको भए जेपनि हुन सक्थ्यो । त्यसकारण निर्वाचनमा जानुको विकल्प थिएन’, उनले कांग्रेसको नेतृत्वमा निर्माण भएको संविधान कार्यान्वयन कांग्रेसकै काँधमा रहेको बताए । देउवाले इतिहासमा धेरैपटक कांग्रेसलाई सिध्याउन खोजेपनि असफल भएको बताउँदै कांग्रेस ठूलो पार्टी हुने बताए । आगामी निर्वाचनको तयारीमा अहिले देखि नै तरुण दललाई क्रियाशील भएर लाग्न आग्रह गरे । अन्नपूर्ण पोष्ट