मुम्बई इन्डियन्सको पहिलो जित, बैंङ्लोर ४६ रनले पराजित

621
views

काठमाडौं, बैशाख ५ । मुम्बई इन्डियन्सले पहिलो जित दर्ता गराएको छ । इन्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटको जारी सिजनमा मुम्बईले जित दर्ता गराएको हो । गएराति भएको खेलमा मुम्बईले रोयल च्यालेन्जर्स बैंगलोरलाई ४६ रनले हराउँदै अंक तालिकाको छैटौं स्थानमा उक्लियो ।

८ टोली सहभागी आइपिएलमा मुम्बई, बैंग्लोर र दिल्लीले चार खेलमा एक एक वटा जित मात्र दर्ता गराएका छन् । गएराति टस हारेर पहिले व्याटिङ गरेको मुम्बईले २० ओभरमा ६ विकेट गुमाउँदै २ सय १३ रन बनायो ।

कप्तान रोहित शर्माले सर्वाधिक ९४ रन बनाँउदा इभिन लेविसले ६५ रनको योगदान दिए । बैंगलोरका लागि उमेश यादव र कोरे एन्डरसनले समान २ र २ विकेट लिए ।

जवाफमा २ सय १४ रनको लक्ष्य पछ्याएको बैंङ्लोरले निर्धा्रित २० ओभरमा ८ विकेट गुमाएर १ सय ६७ रन मात्र बनाउन सक्यो ।

टोलीका लागि कप्तान विराट कोहलीले अविजित ९२ रन जोडे पनि अन्य कुनै पनि ब्याट्सम्यानले उनलाई साथ दिन सकेनन् ।

बैंङ्लोरलाई लक्ष्यभन्दा सस्तैमा समेट्न मुम्बईका क्रुनाल पाण्डेले ३ तथा जसप्रित बुम्राह र मिचेल म्याक्लीनाघनले २ र २ विकेट लिए ।