पत्रकार महासंघको प्रदेश चुनाव, तीन संगठनको सिण्डिकेट

1055
views

काठमाडौं, बैशाख ५ । क्रान्तिकारी पत्रकार महासंघले एक वक्तव्य निकालेर नेपाल पत्रकार महासंघको इतिहासमा पहिलो पटक हुन लागिरहेको प्रदेश चुनावका सम्बन्धमा ठूला भनिएका तीन संगठनले मंगलबार गरेको भागबण्डाको सहमतिप्रति गम्भीर रुपमा ध्यानाकर्षण भएको भन्दै भागबण्डाको विरोध गरेको छ ।

क्रान्तिकारी पत्रकार महासंघका अध्यक्ष इन्द्र राउतले मंगलबार जारी गरेको वक्तव्यमा ‘महासंघको साझा र छाता चरित्रलाई माटियामेट पार्दै एकाध संगठनको वर्चस्व लाद्ने र अन्य संगठनको अस्तित्वलाई निषेध गर्दै महासंघलाई अमूक पार्टीको भातृ संगठनमा परिणत गराउन खोज्ने यो सर्वसत्तावादी प्रवृत्तिको हाम्रो संगठन घोर भत्र्सना एवम् कडा शब्दमा निन्दा गर्दछ ।’ भनिएको छ ।

वक्तव्यमा प्रदेश चुनावको सम्बन्धमा पर्याप्त मात्रामा सरोकारवाला संगठनहरुसँग परामर्श नगरी एउटै अवधिमा सम्पन्न गरिने तीन तहको निर्वाचनमध्येको प्रदेश चुनावमा जिल्ला शाखाको निर्वाचनमा मतदान गरेका सदस्यहरुलाई नवीकरण अनिवार्य गरेर मतदानको अधिकारबाट बञ्चित गराउने, ०७४ चैत्रसम्मको नवीकरण गरेर वैधानिकताको ख्याल नै नगरी ०७५ सालमा चुनाव गराउने, महासंघका जम्मा सदस्यमा करिब आधा जतिको सदस्यता नवीकरण नै नभएको अवस्थालाई वेवास्ता गर्दै तीन संगठनको सर्वसत्तावादलाई लागू गर्ने गरी महासंघको वर्तमान नेतृत्वले चुनावी प्रक्रिया अगाडि बढाएकोप्रति पनि क्रान्तिकारी पत्रकार महासंघले घोर विरोध गरेको छ ।

वक्तव्यमा आफूलाई लोकतन्त्रको ठेकेदार ठान्ने तीन ठूला पार्टी निकटका पत्रकार संगठनलगायत महासंघको नेतृत्वले उल्लेखित गतिविधिहरु सच्याएर अन्य संगठनहरुको अस्तित्व स्वीकारी प्रतिनिधित्व सुनिश्चित गराउने वातावरण निर्माण गरी महासंघको साझा र छाता चरित्रलाई स्थापित गराउन तत्काल पहल नगर्ने हो र नवीकरणलाई अनिवार्य नबनाई एउटै अवधिमा सम्पन्न गरिने चुनाव भएकोले जिल्ला शाखाको चुनावमा मतदान गरेका साधारण सदस्य(गैरपत्रकारबाहेक)हरुलाई प्रदेश चुनावमा स्वतः मतदान गर्न पाउने व्यवस्था गरी चुनावी वातावरण निर्माण नगर्ने हो भने कडा संघर्षमा उत्रन बाध्य हुने चेतावानी दिइएको छ ।