यातायात व्यवसायीद्वारा आन्दोलनको घोषणा

1599
views

काठमाडौं । यातायात व्यवसायीले सिन्डिकेट खारेजीविरुद्ध चरणबद्ध आन्दोलनको घोषणा गरेका छन् । सरकारले सिन्डिकेट हटाउन अटेर गर्ने यातायात व्यवसायी संघसंस्था र समिति खारेज गर्ने निर्णय गरेको भोलिपल्ट राजधानीमा पत्रकार सम्मेलन गर्दै व्यवसायीहरूले आन्दोलनको घोषणा गरेका हुन् । व्यवसायीले यातायात कार्यालय घेराउदेखि ग्यारेजमा गाडी थन्क्याउनेसम्मका आन्दोलनका कार्यक्रम घोषणा गरेका हुन् ।

यातायात व्यवसायीले बैशाख ५ गते केन्द्रदेखि ७ वटै प्रदेशमा पत्रकार सम्मेलन गरी आन्दोलनको सुरुवात गरेका छन् । बैशाख १४ र १५ गते सबै जिल्ला सदरमुकाम र काठमाडौं उपत्यकामा गाडी क्यू फ्री मा छाड्ने, १६ गते देशभरका यातायात कार्यालय घेराउ गर्ने र २१ गते आफ्ना गाडी घर र ग्यारेजमा थन्क्याउने उललेख गरेका छन् ।

बैशाख २७ गतेदेखि अर्को निर्णय नभएसम्म उनीहरूले गाडी नचलाउने निर्णय गरेका छन् । २७ गतेदेखि आमहड्ताल गर्ने चेतावनी दिए पनि उनीहरूले ’आफ्ना गाडी घर ग्यारेजमा थन्क्याउने’ भन्ने कुटनीतिक भाषा प्रयोग गरेका छन् ।