क्रिस गेलको शतकीय पारीमा पञ्जाव विजयी

784
views

मोहाली, ७, वैशाख । विस्फोटक ब्याट्सम्यान क्रिस गेलको शतकीय पारीको मद्दतमा किङ्स इलेभेन पञ्जावले जारी इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत बिहीबारको खेलमा १६ औं म्याचमा सनराइजर्स हैदरावादलाई १५ रनले पराजित गरेको छ ।

प्रतियोगितामा पञ्जावको यो तेस्रो जित हो भने हैदरावादको पहिलो पराजय हो । पञ्जावले टस जितेर पहिले ब्याटिङ गर्दै तीन विकेटको क्षतिमा १९३ रन बनाएको थियो । जवाफी ब्याटिङमा उत्रिएको हैदरावादले निर्धा्रित २० ओभरमा चार विकेट गुमाएर १७८ रनमात्र बनाउन सक्यो ।

हैदरावादका लागि मनीष पाण्डेले सर्वा्धिक ५७ रन बनाए भने कप्तान केन विलियम्सनले ५४, शाकिब हल हसनले २४ र युसुफ पठानले १९ रन बनाए ।

यसअघि पञ्जावका लागि गेलले विस्फोटक ब्याटिङ गर्दै ६३ बलमा एक चौका र ११ छक्काको मद्दतले १०४ रनको अविजित पारी खेले । पहिलो ५० रन बनाउन ३९ बल सामना गरेका गेलले दोस्रो ५० रन १९ बलमै पुरा गरेका थिए ।

आइपिएलको जारी ११ औं संस्करणमा शतक प्रहार गर्ने गेल पहिलो खेलाडी हुन् । आइपिएलको इतिहासमा उनको यो छैठौं शतक हो ।