क्युबामा क्यास्ट्रो परिवारको राजनीतिक नेतृत्वको अन्त्य

738
views

हवाना ः क्युबामा क्यास्ट्रो परिवारको लामो समयदेखिको राजनीतिक नेतृत्व अन्त्य भएको छ । क्युबाको संसद्ले वर्तमान राष्ट्रपति राउल क्यास्ट्रोको नजिकका सहयोगी मिगेल डिआसकनेललाई राष्ट्रपतिको एक मात्र उम्मेदवारमा बिहीबार चयन गरेको छ । योसँगै क्युवाको राजनीतिमा विगत ६० वर्षदेखि प्रभावशाली नेतृत्व प्रदान गर्दै आएको क्यास्ट्रो परिवारको सत्तामा औपचारिक नियन्त्रण हट्ने भएको छ ।

उनको जन्म सन् १९६० को अप्रिलमा भएको थियो। उनी जन्मेकै समयदेखि क्युबामा क्यास्ट्रो परिवारको नेतृत्व कायम भएको थियो। सरकारको नेतृत्व लामो समयदेखि क्यास्ट्रोको निकट सहयोगी रहँदै आएका ५७ वर्षीय डिआसकनेलले सन् २०१३ पछि उपराष्ट्रपतिको जिम्मेवारी पाएका थिए ।

राउल क्यास्ट्रोले दाजु तथा क्युबाली क्रान्तिका नायक फिडेल क्यास्ट्रो विरामी परेपछि सन् २००६ मा राष्ट्रपतिको कार्यवाहक राष्ट्रपति र त्यसको करिब तीन वर्षपछि राष्ट्रपतिका रूपमा जिम्मेवारी सम्हालेका थिए ।

क्युबाको राष्ट्रिय सभाले डिआसकनेलको उम्मेदवारीको पक्षमा मतदान बुधबार नै गरे पनि नतिजा यो समाचार तयार पार्दासम्म सार्वजनिक भइसकेको छैन । यद्यपि नतिजा बिहीवार नै सार्वजनिक हुनेछ र क्यास्ट्रोले औपचारिक रूपमा डिआसकनेललाई राष्ट्रपतिको जिम्मेवारी हस्तान्तरण गर्ने अपेक्षा गरिएको छ । राष्ट्रपतिको रूपमा नेतृत्व नगरे पनि राहुल क्यास्ट्रोले क्युवाको सत्तारूढ कम्युनिस्ट पार्टीको नेतृत्व अर्को महाधिवेशन नहुँदासम्म अर्थात् सन् २०२१ सम्मका लागि हस्तान्तरण गर्ने सम्भावना भने देखिएको छैन ।

अमेरिकाको राष्ट्रपति कार्यालय ह्वाइट हाउसमा तत्कालीन राष्ट्रपति बाराक ओबामाको कार्यकालदेखि अमेरिका(क्युबा सम्बन्धमा केही सुधार आएको थियो । अमेरिकी राष्ट्रपतिमा डोनाल्ड ट्रम्पको आगमनसँगै उनको क्युबालाई हेर्ने नीतिका कारण सम्बन्धमा पुनः समस्या देखिएको थियो ।

इलेक्ट्रिकल इन्जिनियरिङ पढेका डिआसकनेलले २० वर्षको उमेरमा योङ कम्युनिस्ट लिगको सदस्यका रूपमा राजनीति शुरु गरेका थिए। सन् २०१३ मा उपराष्ट्रपति निर्वाचित हुँदासम्म उनी खासै चर्चामा थिएनन् । उनलाई थोरै बोल्ने कुशल कूटनीतिज्ञका रूपमा हेरिन्छ । वर्तमान राष्ट्रपति राउल क्यास्ट्रोले डिआसकनेललाई ‘सिद्धान्तप्रति निष्ठावान व्यक्ति’का रूपमा प्रशंसा गर्ने गरेका छन् ।