नेपाल पत्रकार महासंघमा तालाबन्दी, पत्रकारहरु आन्दोलित

1372
views

काठमाडौ, ७ बैशाख । बैशाख २२ गते हुन लागेको नेपाल पत्रकार महासंघको प्रदेश चुनावमा नीति विधान विपरीत तीन संगठनले गरेको निर्णयका विरुद्धमा पत्रकारका विभिन्न सात संगठनले केन्द्रिय कार्यालयमा शुक्रबार ताला लगाएका छन् । क्रान्तिकारी पत्रकार महासंघ, क्रान्तिकारी पत्रकार संगठन, प्रगतिशिल पत्रकार संघ, प्रेस सोसाईटी, संघीय प्रेस फोरम, मधेश पत्रकार समाज र मिडिया नेपालले आज ताला लगाएका हुन् ।

सातवटै संगठनका प्रमुखहरुले महासंघको नीति विपरीत विरुद्ध श्रमजीवि पत्रकारहरुको छाता संगठनमा तीनवटा संगठनले कोठे निर्णय गरी सिण्डिकेट लगाएको भन्दै संघर्षमा उत्रिनुपरेको क्रान्तिकारी पत्रकार महासंघका अध्यक्ष ईन्द्र राउतले जानकारी दिए ।

यस्तै नेपाल पत्रकार महासंघलाई सबैको छाता संगठन बनाउनुको सट्टा सिण्डकेट लगाउने दुश्प्रयास गर्दै मनपरी कार्य गरेकोले ताला लगाउनुपरेको क्रानितकारी पत्रकार संगठनका अध्यक्ष एवं नेपाल पत्रकार महासंघका पूर्व सचिव प्रभात चलाउनेले बताए ।

नेपाल पत्रकार महासंघको इतिहासमा पहिलो पटक हुन लागिरहेको प्रदेश चुनावका सम्बन्धमा ठूला भनिएका तीन संगठनले मंगलबार भागबण्डा गरी श्रमजीवि पत्रकारको चुनावी अधिकारलाई कुण्ठित गरेको प्रगतिशिल नेपालका अध्यक्ष नारायण शर्माले जानकारी दिए ।

महासंघको साझा र छाता चरित्रलाई माटियामेट पार्दै एकाध संगठनको वर्चस्व लाद्ने र अन्य संगठनको अस्तित्वलाई निषेध गर्दै महासंघलाई अमूक पार्टीको भातृ संगठनमा परिणत गराउन खोज्ने सर्वसत्तावादी प्रवृत्तिको विरुद्धमा कार्यालयमा तालावन्दी गर्नुपरेको मिडिया नेपालका अध्यक्ष गोपाल पौडेलले बताए ।

प्रदेश चुनावको सम्बन्धमा पर्याप्त मात्रामा सरोकारवाला संगठनहरुसँग परामर्श नगरी एउटै अवधिमा सम्पन्न गरिने तीन तहको निर्वाचनमध्येको प्रदेश चुनावमा जिल्ला शाखाको निर्वाचनमा मतदान गरेका सदस्यहरुलाई नवीकरण अनिवार्य गरेर मतदानको अधिकारबाट बञ्चित गराउने, ०७४ चैत्रसम्मको नवीकरण गरेर वैधानिकताको ख्याल नै नगरी ०७५ सालमा चुनाव गराउने, महासंघका जम्मा सदस्यमा करिब आधा जतिको सदस्यता नवीकरण नै नभएको अवस्थालाई वेवास्ता गर्दै तीन संगठनको सर्वसत्तावाद लागेका कारण संघर्षमा उत्रिनुपरेको संघीय फोरमका महासचिव सरोज खिलाडीले बताए ।

महासंघको वर्तमान नेतृत्वले आलोकाँचो ढंगले चुनावी प्रक्रिया अगाडि बढाएको भन्दै त्यसको विरोध र श्रमजीवि पत्रकारको हकहितका लागि संघर्षमा उत्रिनुपेको प्रेस सोसाईटी नेपालका उपाध्यक्ष केशव अर्यालले बताए ।

महासंघ जस्तो छाता संस्थाको नेतृत्वले नोमिनेशन प्रक्रियामा श्रमजीवि पत्रकारको अधिकार कुण्ठित गर्दै जादुको छडी झैं नोमिनेशन दर्ताको प्रक्रिया अगाडी बढाएको र उक्त प्रक्रियाले महासंघका आधा भन्दा बढी श्रमजीवी पत्रकारहरु निर्वाचनको उम्मेदवारी बन्नबाट बञ्चितिमा परेको मधेसी पत्रकार समाजका अध्यक्ष मोहन सिंहले बताए ।