सम्मान र समानता नभए पार्टी एकता नहुने माओवादी हेर्डक्वाटरको निर्णय

पार्टी एकताको बाधकका रुपमा माधव कुमार नेपाल

917
views

काठमाडौँ, ९ बैशाख । पार्टी एकता हुँदा समानता र सम्मान नभए एकता नहुने माओवादी केन्द्रले निर्णय गरेको छ । आज बसेको माओवादी केन्द्रीय कार्यालय (हेडक्वार्टर) को बैठकले सम्मानजनक र समानताका आधारमा मात्र पार्टी एकता हुनसक्ने निर्णय गरेको हो ।

पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवासमा बसेको बैठकमा केन्द्रीय कार्यालयका सदस्यहरुले समानताका आधारमा मात्र पार्टी एकता गर्नुपर्ने धारणा राखेका थिए ।

बैठकको सुरुवातमै अध्यक्ष प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओलीसँगको एकता वार्ताबारे केन्द्रीय कार्यालयका सदस्यहरुलाई जानकारी गराएका थिए । प्रचण्डले पार्टी एकताको सबैभन्दा ठूलो जटिलता केन्द्रीय समितिमा बाँडफाँट रहेको बताउँदै यसमा बाधकका रुपमा बरिष्ठ नेता माधव नेपाल देखिएको जानकारी गराएका थिए ।

‘केपी शर्मा ओलीपनि समानताका आधारमा पार्टी एकता हुनुपर्छ भन्ने पक्षमा हुनुहुन्छ, तर यसरी नजान ममाथि पार्टीभित्रैबाट ठूलो दबाब छ भनेर उहाँले आफ्नो बाध्यता सुनाउनु भएको छ’ बैठकमा एकतामा देखिएका बाधाबारे जानकारी दिँदै प्रचण्डले भनेका थिए, ‘बराबरीका आधारमा एकता हुने कुराको बाधक माधव नेपाल देखिनुभएको छ ।’

केन्द्रीय कार्यालयका सदस्य देबेन्द्र पौडेलका अनुसार ‘बैठकमा बोल्ने सबै सदस्यहरुले कमिटीहरुमा संख्या तलमाथि भएपनि एकता बराबरीका आधारमा हुनुपर्ने बताउनु भएको छ ।’

माओवादी केन्द्रको आजको बैठकको उपरोक्त निर्णयपछि आज पार्टी एकताको घोषणा नहुने भएको छ । दुई पार्टीबीच एकतामा अन्तिम सहमति हुन नसकेपछि पार्टी स्थापना दिवसको अवसरमा आज हुने भनिएको कार्यक्रममा एकताबारे ‘नरम घोषणा’ को अपेक्षा गरिएको थियो ।