सिरियास्थित डुमाको अनुगमन

679
views

एजेन्सी । रासायनिक अस्त्रसम्बन्धी अन्तराष्ट्रिय विज्ञहरुले रासायनिक आक्रमण भएको भनिएको सिरियाको राजधानी दमास्कसनजिकको डुमाको अनुगमन गरेका छन् ।

काठमाडौं, बैशाख ९ । रासायनिक अस्त्रसम्बन्धी अन्तराष्ट्रिय विज्ञहरुले रासायनिक आक्रमण भएको भनिएको सिरियाको राजधानी दमास्कसनजिकको डुमाको अनुगमन गरेका छन् ।

रासायनिक अस्त्रको प्रयोग निषेध गर्ने संगठन ओपीसीडब्ल्यूको एउटा टोलीले डुमा नगरमा अनगुमन गर्दै त्यहाँका केही नमूना संकलन गरेको हो । ओपीसीडब्ल्युले प्रेस विज्ञप्ति जारी गर्दै अप्रिल ७ मा रासायनिक आक्रमण भएको भनिएका दुई स्थानमध्ये एक स्थानको भ्रमण गरेको जनाएको छ ।

नाम नखुलाइएका ती नमुना ओपीसीडब्ल्यूको प्रयोगशालामा पठाइने विज्ञप्तिमा उल्लेख छ । सिरियाली सरकारी पक्षले गत अप्रिल ७ मा डुमामा रासायनिक आक्रमण गरेको आरोप लाग्दै आएको छ ।

त्यसको विरोधमा अमेरिकासहित पश्चिमा मुलुकहरुले सिरियाविरुद्ध क्षेप्यास्त्र प्रहार गरेका थिए । डुमा नगर अहिले सिरियाली सरकार र रुसको नियन्त्रणमा छ । तर सो शहरमा आफूहरुले रासायनिक आक्रमण नगरेको दाबी सिरियाली सरकार र रुसले गर्दै आएका छन् ।

रासायनिक अस्त्रसम्बन्धी अन्तराष्ट्रिय विज्ञको अनुगमन टोलीले घटनास्थलबाट अन्य सामग्रीहरु पनि संकलन गरेको जनाइएको छ । ओपीसीडब्ल्यूको नौ सदस्यीय टोलीले डुमा नगरभित्र पहुँच पाउने अनुमति प्राप्त गर्न एक हप्तादेखि राजधानी दमास्कसमा बसेको थियो ।

रासायनिक आक्रमण भएको पुष्टि गर्ने फोरेन्सिक प्रमाण मेटाउने प्रयास भएको आशंका भइरहेका बेला विदेशी पत्रकारहरूले भने डुमाको भ्रमण गरिसकेका छन् ।