हिमाली जिल्ला मनाङमा ‘मेथा’ पर्वको रौनक, पर्यटन प्रर्वद्धनमा जोड

904
views

मनाङ, १० बैशाख । हिमाली जिल्ला मनाङ प्राकृतिक मात्रै नभएर सांस्कृतिक सम्पदाले पनि धनी छ । मनाङबासीको आफ्नै मौलिक संस्कृति, परम्परा र रहनसहन छ । यतिबेला मनाङका स्थानियहरुले धनुषबाण अर्थात तीर हान्ने पर्व (मेथा) मनाइरहेका छन् ।

मनाङवासीले जिल्लाका गाउँपालिकामा मेथा अर्थात तीर पर्व धुमधामका साथ मनाएकाा छन् । सदरमुकाम चामे, अपर पिसाङ, मनाङ, खाङ्सार लगयातका स्थानमा मेथा पर्व बिशेष कार्यक्रमका साथ मनाइरहेको स्थानिय समाजसेवी याङडुङ गुरुङले जानकारी दिए ।

नयाँ सालको शुरुवातीसँगै यहाँका बासिन्दाहरुले यो पर्व मनाउने प्रचलन छ । ‘परापूर्बकाल देखि चलिआएको यो पर्वलाई जीवितै राख्न पिसाङका स्थानियहरुले हरेक बर्ष मेथा पर्व मनाउने गर्दछन् ।’ गुरुङले भने, ‘मेथा पर्व गाउँभरीका युवा, बृद्ध सबै एकैठाउँमा भेला भएर एक सातासम्म धुमधामका साथ मनाउने पर्व हो ।

गाउँको कृषि उत्पादनमा सहयोग पु¥याउने, गाउँमा राक्षस प्रवेश नगर्ने, गाउँमा झै–झगडा नभई शान्ति फैलियोस भन्दै सबै गाउँलेहरुले एकआपसमा माया, सदभाव र एकता बढाउने कामनाका साथ यो पर्व मनाइने गरेको मनाङका पर्यटन व्यवसायी विनोद गुरुङलदे जानकारी दिए ।

मेथा पर्वको अन्तिम दिनमा स्थानियहरुले एउटा केटा र एउटा केटीको राक्षस अंकित प्रतिमा बनाउने गरेको र सोही राक्षसको प्रतिमालाई लक्षित गरी तीर हान्ने र मार्ने गरेको उनको भनाई छ । ‘पहिले पहिले जसले राक्षसलाई अन्त्य गर्दछ र उही ब्यक्ति समुदायमा बर्ष पुरुष मान्ने गरिन्थ्यो ।’

स्थानियहरुले पर्वको खुसीयालीमा मिठा मिठा परिकारहरु खाने, विजेतालाई पैसा उठएर पुरस्कार दिने र नाचगान गरी रमाइलो गर्ने गरेको स्थानिय बताउँछन् । ‘पर्वमा रौनकता दिनका लागि आफ्नै सांस्कृतिक भेषभुषासहित स्थानियहरु सहभागी हुने गर्दछन् ।’ ‘भेषभुषासहित हातमा बाण लिएर तीर हान्दा निकै रमाइलो हुने गर्दछ ।’

हिजोआज स्थानियहरुले मेथा पर्वलाई पर्यटनसँग जोड्न थालेका छन् । पदमार्गमा आएका पर्यटकहरुलाई पनि पर्वमा सहभागी गराउने गर्दछन् । ‘मनाङ हुँदै अन्नपूर्ण चक्रिय पदमार्गमा आएका आन्तरिक तथा बाह्य पर्यटकहरु पनि यस पर्वमा सहभागी भई मनोरञ्जन लिने गर्दछन् ।’

बाबु बाजेले शुरु गरेको यस्ता पर्वलाई पछिल्लो पुस्ताले निरन्तरता दिनुपर्नेमा जोड दिदैं पूर्व सांसद तथा श्रम तथा रोजगार राज्यमन्त्री टेकबहादुर गुरुङले यस्ता पर्वलाई पर्यटनसँग जोड्नुपर्ने बताए । ‘यस्ता मेलाहरु मनाङको सम्पत्ती ह्न् । यिनको संरक्षण गर्नु हाम्रो दायित्व हो ।’

मेथा पर्व मनाङका ४ वटै गाउँपालिकामा फरक फरक शैलीमा मनाउने चलन छ । मनाङमा मेथा पर्वपछि घोडा जात्रा, आङुमुदे जात्रा लगायतका विभिन्न प्रकारका जात्राहरु मनाइने गरिन्छ ।