दलिय विवादले खानेपानी आयोजना अलपत्र, संंकटमा सर्वसाधारण

2947
views

महेन्द्र जिसी
पर्वत, १० वैशाख । धेरै समयको दौडधुपले परेको खानेपानी आयोजनामा विवाद चुलिएपछि फलेवास नगरपालिका–३ शंकरपोखरीमा खानेपानीको आयोजना अलपत्र परेको छ । पुराना मूल र आयोजनाहरुको समेत मर्मत नहुँदा वडावासी खानेपानीको संकटमा परेका छन् ।

दलिय विवादका कारण वडामा परेको बहुवर्षे आयोजना चालु वर्षमा सम्झौता हुन नसकेपछि थप संकट झेल्नुपर्नेमा वडावासीको गुनासो बकढेको छ ।

पानीको संकटमोचनका लागि आकासेपानी घैंटामा जम्मा गरी जेनतेन टारेका उनीहरुले वर्षादमा जम्मा गरेको आकासे पानी सकीएका कारण पानीको हाँहाँकार बढेको हो । कुवा ईनारमा घण्टौ लाईन लगाएर खानेपानी जोहो गर्नुपरेको स्थानीयवासी विमला घर्तीले बताईन् ।

विहान सवेरै कुवामा नपुगेमा खानेपानीको अनिकाल पर्छ, घर्तीले भनिन् ‘बल्लतल्ल परेके आयोजनामा त दलिय भागवण्डा नगरे हुन्थ्यो ।’

नगरपालिकाले सडक सञ्जाललाई पहिलो प्राथमितामा राखेपछि अन्य विकासे कामहरु ओझेलमा परेको र सडक विस्तारले भएका मूलहरुपनि सुक्दै गएको स्थानीयको भनाई छ ।

स्थानीयलाई परेको खानेपानीको संकट समाधानका लागि जहाँ उच्च वस्तीहरु छन् त्यस ठाउँमा मोटर पम्प सहितका आयोजनाहरु लैजानपर्ने आवश्यकता रहेको र जिल्ला खानेपनी तथा सरसफाई डिभिजन कार्यालय पर्वतले जनाएको छ ।

शंकरपोखरीमा खानेपानीको समस्या समाधान गर्न गतवर्ष देखि बहु वर्षिय आयोजना परेको तर, दलिय विवादले आयोजनाको लागि सम्झौता हुन नसकेको डिभिजन प्रमुख प्रेम डोटेलले बताए ।

शंकर पोखरीमा २४ करोडको आयोजना वडामा परेको भएपनि वडा भेला हुन नसक्दा सम्झौता हुन सकेको छैन् । वडा अध्यक्ष अर्जुन कार्कीले उपभोक्ता अध्यक्ष चयनमा विबाद भएपछि सहमती हुन नसकेको बताए । वडावासीले पुराना कुवा ईनारमा गई घण्टौं लगाएर खानेपानीको जोहो गर्नुपर्ने वाध्यता सिर्जना भएको स्थानीयको भनाई छ ।