बजेट अधिवेशन ‘वैशाख २३ देखि’

564
views

काठमाडौं । संघीय संसदको बजेट अधिवेशन वैशाख तेस्रो साताबाट बोलाउने गरी संसद् सचिवालयले गृहकार्य सुरु गरेको छ । सचिवालयले वैशाख २३ देखि प्रतिनिधिसभा र राष्ट्रिय सभाको बैठक बोलाउन सरकारलाई प्रस्ताव गर्न लागेको हो ।

सरकारको सिफारिसमा राष्ट्रपतिले संसद् बैठक बोलाउने संवैधानिक प्रावधान छ । सचिवालयका प्रवक्ता भरतराज गौतमले सरकारले ल्याउने नीति तथा कार्यक्रम तथा प्रि–बजेटमाथिको छलफल प्रारम्भ गर्न आवश्यक हुने भएकाले वैशाख अन्तिम साताबाट बैठक बस्ने गरी तयारी गरिएको बताए ।

सचिवालयले वैशाख अन्तिम सातादेखि असार दोस्रो सातासम्मका लागि बजेट अधिवेशनको क्यालेन्डर तयार गरिरहेको छ । असार मध्यसम्ममा बजेटमाथि छलफल टुंगिने अनुमानका साथ दोस्रो अधिवेशन तयारी गरिएको हो ।

संविधानअनुसार जेठ १५ गते सरकारले आगामी आर्थिक वर्षको आयरव्यय समेटिएको बजेट ल्याउनेछ । त्यसअगाडि संसद् बैठक आफ्नो कार्यसञ्चालन नियमावली, सरकारको नीति तथा कार्यक्रम र प्रि–बजेटमाथिको छलफलमा व्यस्त हुनेछ ।

गौतमका अनुसार प्रतिनिधिसभा कार्यसञ्चालन नियमावली, राष्ट्रिय सभा कार्यसञ्चालन नियमावली र संयुक्त बैठकको कार्यसञ्चालन गरी तीनवटा नियमावली तयार पार्ने काम भइरहेको छ । नियमावलीमा एकरूपता कायम गर्न र संयुक्त बैठकको नियमावली तयार गर्न प्रतिनिधिसभा र राष्ट्रिय सभाका नियमावली समितिको संयुक्त बैठकबाट काम अघि बढाइएको छ । बजेट अधिवेशनको पहिलो बैठकमै नियमावली पेस गर्ने गरी काम भइरहेको उनले जानकारी दिए ।

मंसिर १० र २१ मा भएको आमनिर्वाचनपछि संघीय संसदको पहिलो अधिवेशन फागुन २१ गतेबाट सुरु भएर चैत २० गते सकिएको थियो । संविधानले निर्धारित गरेका केही निश्चित कामबाहेक सरकारबाट उक्त अधिवेशनले ‘बिजनेस’ पाउन सकेको थिएन ।

अघिल्लो सरकारले ल्याएका तीनवटा अध्यादेशलाई पारित गर्नुबाहेक उक्त अधिवेशनले कुनै पनि कानुन बनाएन । राष्ट्रपति, उपराष्ट्रपति, प्रतिनिधिसभाका सभामुख, उपसभामुख, राष्ट्रिय सभाका अध्यक्ष र उपाध्यक्षको निर्वाचन तथा सरकारले विश्वासको मत लिनेजस्ता काम पहिलो अधिवेशनमा भएको थियो । कान्तिपुरबाट