२५६२ औं बुद्ध जयन्ती तथा अन्तराष्ट्रिय बौद्ध सम्मेलनमा १५ राष्ट्रका मन्त्री सहभागी हुने

3057
views

भैरहवा, ११ वैशाख । २५६२ औं बुद्ध जयन्ती तथा अन्तराष्ट्रिय बौद्ध सम्मेलनमा १५ मुलुकका संस्कृति एवं धार्मिक मामिलामन्त्री सहभागी हुने भएका छन् । बुद्ध जन्मस्थल लुम्बिनीमा वैशाख दोस्रो साता आयोजना हुने उनीहरूलाई सहभागी गराउने तयारीमा सरकार जुटेको छ ।

बुद्ध जयन्ती तथा सम्मेलनबारे लुम्बिनी विकास कोषले आयोजना गरेको कार्यक्रममा कोषका उपाध्यक्ष भिक्षु अवधेशकुमार त्रिपाठीले भारत, जापान, लाओस, म्यान्मार, थाइल्यान्ड, चीन, कम्बोडिया, भियतनाम, मंगोलिया, भुटान, दक्षिण कोरिया, श्रीलंका, बंगलादेश, पाकिस्तान र अफगानिस्तानका संस्कृति एवं धार्मिक मामिलामन्त्रीलाई सहभागी गराउने पहल भइरहेको बताए ।

यसैगरी सम्मेलनमा अस्ट्रेलिया, बंगलादेश, भुटान, कम्बोडिया, क्यानडा, चीन, फ्रान्स, जर्मनी, भारत, इन्डोनेसिया, जापान, लाओस, मलेसिया, मंगोलिया, म्यान्मार, रसिया, सिंगापुर, दक्षिण कोरिया, श्रीलंका, भियतनाम, थाइल्यान्ड, बेलायत र अमेरिका गरी २३ राष्ट्रका राष्ट्रियस्तरका बौद्ध संघसंस्थालाई पनि सहभागी गराउने तयारी भएको उनले जनाए । ‘यसका लागि परराष्ट्र मन्त्रालयमार्फत निमन्त्रणा पठाइसकिएको छ,’ उनले भने, ‘तर, कति मुलुकबाट मन्त्री र राष्ट्रियस्तरका बौद्ध संघसंस्था सहभागी हुन्छन् भन्नेबारे एकिन भइसकेको छैन ।’

संघका अनुसार ‘लुम्बिनी नेपाल बुद्धको जन्मस्थल र विश्व शान्ति र बौद्ध दर्शनको मुहान’ भन्ने नारालाई अन्तराष्ट्रि«यस्तरमा स्थापित गराउन वैशाख १५ र १६ गते बुद्ध जयन्ती तथा सम्मेलन हुने भएको छ ।