इरानसँग नयाँ परमाणु सम्झौता गर्न अमेरिका र फ्रान्सको यस्तो छ तयारी

729
views

एजेन्सी, १२, वैशाख । अमेरिका र फ्रान्सले इरानसँग नयाँ परमाणु सम्झौता गर्न सकिने संकेत गरेका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र फ्रान्सका राष्ट्रपति इम्यानुअल म्याक्रोनबीच ह्वाइट हाउसमा भएको भेटवार्तामा इरानसँग नयाँ परमाणु सम्झौता गर्न सकिने विषयमा छलफल भएको हो ।

विश्व शक्ति राष्ट्र र इरानबीच सन् २०१५ मा भएको परमाणु कार्यक्रमबारेको सम्झौता कुनै पनि हालतमा कार्यान्वयन गर्न नसकिने भन्दै अमेरिकाले त्यो भंग गर्नुको विकल्प नभएको जनाएको छ ।

दुई नेताबीचको भेटपछि ह्वाइट हाउसमा गरिएको पत्रकार सम्मेलनमा अमेरिकी राष्ट्रपति ट्रम्पले पुरानो सम्झौतालाई ‘पागलपन’को संज्ञा दिए ।

ट्रम्पले यसअघि पनि यो परमाणु सम्झौता सबैभन्दा खराव सम्झौता मध्येको एक भएको बताउँदै आएका थिए । बाराक ओवामाको कार्यकालमा भएको यो सम्झौता आगामी मे १२ देखि भंग गर्ने उनले बताए ।

फ्रान्सका राष्ट्रपति म्याक्रोनले भने इरानसँग नयाँ सम्झौता हुनसक्ने बताए । नयाँ सम्झौताले इरानको परमाणु कार्यक्रमलाई नियन्त्रणमा राख्न सकिने उनको भनाइ थियो ।

जर्मनकी चान्सलर एन्जेला मर्केल पनि शुक्रबार अमेरिका जाँदै छन । उनले इरानसँगको सम्झौता तोड्नबाट ट्रम्पलाई रोक्ने प्रयास गर्नेछन । अमेरिकाले सम्झौता तोडेमा इरानले पुनः आफ्नो परमाणु कार्यक्रम सुरु गर्ने सम्भावना रहेको बताइएको छ ।

तर ट्रम्पले भने यो कुनै पनि हालतमा सम्भव नहुने बताउँदै आएका छन् । आफ्ना पुराना गतिविधि सञ्चालन गरेमा उसले ठूलो नोक्सानी बेहोर्नुपर्ने चेतावनी उनले दिए । यसैबीच इरानका राष्ट्रपति हसन रुहानीले अन्तर्रा्ष्ट्रिय परमाणु सम्झौताबाट पछि नहट्न अमेरिकालाई कडा चेतावनी दिएका छन् ।

उनले सम्झौता भंग गरिदिने भनेर अमेरिकाले दिँदै आएको धम्की कार्यान्वयन गरे त्यसका गम्भीर परिणामहरु हुने बताए । विश्व शक्ति राष्ट्रहरु र इरानबीच सन् २०१५ मा परमाणु कार्यक्रमबारे एक सम्झौता भएको थियो ।

जसअन्तर्गत इरानले आफ्नो परमाणु कार्यक्रमलाई सीमित तुल्याउने प्रतिबद्धता जनाएको थियो । बदलामा ऊ विरुद्ध लगाइएका विभिन्न प्रतिबन्धहरु हटाइएका थिए ।