धरहरा निर्माणको काम तीव्र गतिमा–प्रम ओली

749
views

काठमाडौँ, १२, वैशाख । विसं २०७२ को वैशाख १२ गते गएको भूकम्पबाट पीडितको स्मृतिमा काठमाडौँ महानगरपालिकाद्वारा सुन्धारास्थित भत्किएको धरहराको प्रांगणमा आयोजित ‘मै बनाउँछु मेरो धरहरा’ कार्यक्रममा प्रधानमन्त्री ओलीले भूकम्पका कारण मृत्यु हुनेप्रति श्रद्धाञ्जलि अर्पण गर्नुभएको छ । सो अवसरमा बोल्दै प्रधानमन्त्री ओलीले सरकारले धरहरा निर्माणको कार्यलाई जतिसक्दो छिट्टो निर्माण गर्ने पनि बताउनुभयो ।

प्रधानमन्त्री ओलीले हाम्रो कलात्मकता र सुन्दरतालाई कायम राख्दै पुरानै शैलीमा, भूकम्प आउँदा पनि नभत्किने बलियो धरहरा, रानीपोखरी, काष्ठमण्डप तथा वसन्तपुरका सांस्कृतिक संरचनालगायत अन्य संरचना निर्माणमा सरकार जुटेको बताउनुभयो ।

ओलीले सरकारले सत्ताभन्दा पनि जनता बलियो हुने गरी काम गर्ने प्रतिबद्धता व्यक्त गर्दै देशमा समृद्धिवाद आउँन लागेको बताउनुभयो । कार्यक्रममा काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले काठमाडौँका भत्किएका घरको पुनःनिर्माणसँगै पुराना घरसमेत भत्काउनुपर्ने आवश्यकता औँल्याउनुभयो ।

वैशाख १२ गतेको भूकम्प र त्यसपछि गएका पराकम्पका कारण आठ हजार ९७९ जनाको मृत्यु भएको थियो भने २२ हजार ३०९ घाइते भएका थिए । भूकम्पका कारण करीब रु सात खर्ब रुपैयाँ बराबरको क्षति पुगेको थियो ।