३३ किलो सुन प्रकरणः एसपी विकास खनाल आन्तरिक हिरासतमा

827
views

काठमाडौँः त्रिभुवन विमानस्थलबाट भएको ३३ किलो सुन तस्करीमा मुछिएको भन्दै प्रहरी उपरीक्षक विकास खनाललाई हिरासतमा लिइएको छ । खनाललाई प्रहरीले एक नम्बर गणमा आन्तरिक हिरासतमा राखेको हो ।

गत वर्ष त्रिभुवन विमानस्थलबाट बरामद भएको ३३ किलो सुन तस्करीमा मुछिएका सनम शाक्यको हत्या भएपछि खनाल पनि डीआईजी गोविन्द निरौला र एसएसपी श्याम खत्रीसँगै मुछिएका थिए ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरमा प्रमुख रहेका खनाललाई काठमाडौँ झिकाएर प्रहरी प्रधान कार्यालयले आन्तरिक हिरासतमा राखेको हो । यो प्रकरणमा मुछिएका डिएसपी सञ्जय राउत भने सम्पर्कविहिन छन् । उनको खोजीकार्य भईरहेको छ ।

तत्कालीन डीआईजी नवराज सिलवाल केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) का प्रमुख हुँदा खनाललाई सुन तस्करीबाट सफाइ दिइएको थियो तर, गृहमन्त्रालयले गठन गरेको उच्चस्तरी छानबिन समितिले अनुसन्धानमा तानेको हो । यस्तै पूर्वडीआईजी गोविन्द निरौलालाई गृहले यही प्रकरणमा पक्राउ गरेर मुद्दा चलाउन विराटनगर पठाइसकेको छ ।