इन्जिनियर बन्न चाहन्थे, कलाकार बने‌

271
views

मुम्बई, १४ वैशाख । – वलिउड अभिनेता विनोद खन्नाको बिहिबार ७० वर्षको उमेरमा निधन भएको छ । पछिल्लो समय गल ब्लाडर क्यान्सरबाट पीडित थिए । उनले बिहान ११ बजेर २० मिनेट जाँदा अन्तिम श्वास लिए । डेढ महिनादेखि उनी गिरगाउँको एनएन रिलायंस फाउन्डेसन एण्ड रिसर्च सेन्टरमा उपचार गरिरहेका थिए । अप्रिल महिनाको शुरुमा उनको एउटा तस्विर बाहिर आएको थियो जसमा उनी निकै कमजोर देखिएका थिए । बलिउडमा उनले १४४ वटाभन्दा धेरै चलचित्र खेलेका छन् । उनी पञ्जाबको गुरदासपुरबाट विजेपीको सांसद पनि थिए ।
अन्तिम चलचित्र दिलवाले
विनोद खन्ना अन्तिम पटक शाहरुख–काजोल अभिनित दिवालेमा देखिएका थिए । त्यसपछि उनी कुनै चलचित्रमा देखिएनन् । केही समयअघि उनले सन् २०१० देखि आफूलाई क्यान्सर भएको बताएका थिए । दुईवटा विवाह गरेका उनको पहिलो पत्नी गिताञ्जलीबाट राहुल र अक्षय गरी दुई छोरा रहेका छन् भने दोस्रो पत्नी कविताबाट छोरा साक्षी र छोरी श्रद्धा रहेका छन् ।
जन्म पाकिस्तानमा, बन्न चाहन्थे इन्जिनियर
विनोद खन्नाको जन्म ६ अक्टुबर १९४६ मा पाकिस्तानको पेशावरमा भएको थियो । दुई देश अलग हुँदा उनको परिवार मुम्बई आएका थिए । उनका पिता टेक्सटाइलका व्यापारी थिए । विनोदले भने विज्ञान पढ्दै इन्जिनियर बन्न चाहेका थिए । उनका पिता भने उनलाई आफ्नो व्यवसाय सम्हालेको हेर्न चाहन्थे । सुनिल दत्तसँग एक पार्टीमा भेट भएपछि उनको यात्रा बलिउड तर्फ मोडिएको थियो । आफ्नो होम प्रोडक्सनका चलचित्र मनका मीतमा उनलाई रोल अफर गरेका थिए । यो चलचित्र सन् १९६८ मा प्रदर्शनमा आयो र त्यहीँबाट उनको बलिउडमा इन्ट्री भयो ।
बुवा भन्थे, ‘फिल्म खेले गोली हानिदिन्छु
यता विनोद खन्नाले सुनिल दत्तलाई चलचित्र खेल्ने बताएपछि उनको पिता भने निकै क्रुद्ध बनेका थिए । विनोदमाथि बन्दुक तेर्साउँदै फिल्म खेले गोली हान्ने सम्म भनेका थिए । तर, विनोदका आमाले उनलाई फकाएकी थिइन् । उनको पिताले विनोदलाई दुई वर्षको अल्टिमेटम दिएका थिए । सो समयमा चलचित्रमा केही गर्न नसके पारिवारिक व्यापार सम्हाल्नु पर्ने उनको सर्त थियो ।
करियरमा टर्निङ प्वाइन्ट
उनको करियरको टर्निङ प्वाइन्ट सन् १९७१ मा आयो । उनले सुनील दत्त र अभिताभ बच्चन स्टारर रेशमा और शेरमा अभिनय गरे । गुलजारको मेरे अपनेमा उनको अभिनयको खुब तारिफ भयो । यो वर्ष उनले १० चलचित्र गरेका थिए । सन् १९७३ मा गुलजारको अचानकबाट उनी बलिउडमा स्थापित बन्न पुगे ।