किमको प्रश्नः यहाँ आइपुग्न किन यति मुस्किल भयो ?

‘यो सीमा विभाजनको होइन शान्तिको प्रतीक बनेको छ’

885
views

एजेन्सी । दुई कोरियाबीच सीमावर्ती गाउँ पान्मुन्जोममा सुरु भएको शिखर वार्ताप्रति संसारको ध्यान आकर्षित भएको छ । शुक्रबार बिहान दक्षिण कोरियाली राष्ट्रपति मुन जे इनले उत्तरका नेता किम जोङ उनलाई यो ऐतिहासिक वार्तामा स्वागत गरेका छन् ।

‘यहाँ हिँडेर आउँदै गर्दा म सोचिरहेको थिएँ, यहाँ आइपुग्न यति मुस्किल किन भयो ?’ किमले बैठकको सुरुवातमा मुन र दक्षिण कोरियाली टोलीसँग भने । ‘हामीलाई अलग बनाएको सीमा रेखा नाघ्न नसकिनेगरी अग्लो पनि थिएन । त्यो रेखा नाघ्न निकै सजिलो थियो, तैपनि त्यसलाई नाघेर यहाँ आइपुग्न ११ वर्ष लाग्यो ।’

औपचारिक वार्ता सुरु हुनुअघि किमले आफूहरुप्रति उच्च अपेक्षा रहेको बताएका छन् । ‘अपेक्षा उच्च छ र हामीले विगतबाट पाठ सिकेका छौँ ।’ किमले प्रेसको समेत उपस्थिति रहेको शिखरवार्ताको सुरुवातमा भने, ‘मलाई आशा छ, ११ वर्ष विगतमा खेर गए पनि यस पटक यो खेर जानेछैन । आगामी ११ वर्ष यसरी खेर जानेछैन ।’ ‘मलाई आशा छ, हामी आपसमा नयाँ अध्याय लेख्न सक्षम हुनेछौँ,’ उनले थपे ।

मुनले भने दक्षिण कोरियामा वसन्तको बहार आएको बताए। ‘मलाई विश्वास छ, हाम्रो यो भेट हामी सबैका लागि महत्वपूर्ण छ । यसको अर्थ पक्कै पनि हाम्रो काँधमा ठूलो जिम्मेवारी छ भन्ने हो ।’

उनले भने, ‘कमरेड किम, इतिहासमा पहिलो पल्ट तपाइँले सीमा रेखा पार गर्नुभयो । यो सीमा आइन्दा विभाजनको होइन शान्तिको प्रतीक बनेको छ । अध्यक्ष किम, तपाइँले गर्नुभएको ठूला निर्णयको म सम्मान गर्न चाहन्छु ।’

यो भेटले कोरियालीहरुमा नयाँ उत्साह सञ्चार गरेको छ । किम–मुन शिखरवार्ताको समाचार सम्प्रेषण गर्न इल्सानस्थित मिडिया सेन्टरमा करिब २ हजार पत्रकार भेला भएको बताइएको छ ।

त्यस्तै राजधानी सोलमा पनि हजारौँ मानिस भेला भएका छन् । किमले सीमा रेखा पार गरेर दक्षिण कोरियातर्फ प्रवेश गर्दा भेला भएका मानिसहरुले आपसमा हात मिलाउनुका साथै ताली पिटेका थिए । उनीहरुले सो क्षणको आफ्नो तस्वीर पनि कैद गरेका थिए ।