मोनोरेल निर्माण गर्न चिनियाँ प्रस्ताव

1445
views

काठमाडौँ, १६, वैशाख । काठमाडौँको चक्रपथमा मोनोरेल निर्माण गर्नका लागि चिनियाँ रेलवे कम्पनी सीआरसीसीले काठमाडौँ महानगरपालिकालाई प्रस्ताव गरेको छ । काठमाडौँ महानगरपालिकाका सार्वजनिक निजी साझेदारी एकाइका प्रमुख महेश काफ्लेले चिनियाँ सरकारको मातहतमा रहेको चिनियाँ रेलवे कम्पनी सीआरसीसीले राजधानीको चक्रपथमा दुई वर्ष्भित्र मोनोरेल निर्माण गरी सञ्चालन गर्ने प्रस्ताव गरेको जानकारी दिनुभएको छ । चक्रपथको कुल लम्बाइ करिब २७ किलोमिटर छ ।

सीआरसीसीले पेस गरेको उक्त प्रस्तावबारे अहिले महानगरपालिकाले आन्तरिक छलफल गरिरहेको जानकारी दिँदै काफ्लेले सम्बन्धित व्यक्ति र क्षेत्रसँगको आवश्यक छलफल र सुझाव सल्लाहसँगै महानगरको बोर्डको अनुमोदनपछि यस प्रस्तावलाई अगाडि बढाइने बताउनुभयो

सीआरसीसीले ‘पीपीपी’ र ‘बीओओटी’मध्ये जुनसुकै मोडेलमा निर्माण गर्ने प्रस्ताव गरेको जानकारी दिँदै उहाँले बोर्डको अनुमोदनपछि निर्माणका लागि उक्त कम्पनीसँग थप प्रक्रिया अगाडि बढाइने बताउनुभयो । यसअघि चीनकै निजी क्षेत्रको मोनोरेल निर्माण कम्पनी साइमेक्सले राजधानीको कलङ्कीदेखि तिलगङ्गासम्म १० किलोमिटर मोनोरेल निर्माण गरी सञ्चालन गर्ने प्रस्ताव गरेको जानकारी उहाँले दिनुभयो ।

कम्पनीले गरेको प्रस्ताव स्वीकार गर्दै निर्माण सम्झौता गर्नका लागि महानगरपालिकाको बोर्डले समेत अनुमोदन गरिसकेको बताउँदै उहाँले उक्त कम्पनीलाई सम्झौताको ‘ड्राफ्ट’समेत पठाइसकिएको जानकारी दिनुभयो । उक्त कम्पनीको जवाफ आउनासाथ सडकखण्डमा मोनोरेल निर्माणका लागि सम्झौता गरिने जानकारी उहाँले दिनुभयो ।

साइमेक्स इङ्क कम्पनीले काठमाडौँमा मोनोरेल सञ्चालन सम्भव रहेको सम्भाव्यता अध्ययन प्रतिवेदनसमेत काठमाडौँ महानगरपालिकालाई बुझाइसकेको छ । सो अध्ययनका लागि काठमाडौँ महानगरपालिका र सो कम्पनीबीच ८ फेब्रुअरी २०१७ मा सम्झौता भएको थियो । साइमेक्स कम्पनीले चिनियाँ बीवाईडी कम्पनीसँग मिलेर सम्भाव्यता अध्ययन गरेको थियो । चार महिना लगाएर तयार पारिएको सो सम्भाव्यता अध्ययन जर्मनी र बेलायतका विज्ञहरूको संलग्नतामा भएको थियो ।

अन्य मुलुकको तुलनामा काठमाडाँैमा मोनोरेल सञ्चालन सहज रहेको प्रतिवेदनले देखाएको थियो । प्रतिवेदनमा तिलगङ्गादेखि कलङ्कीसम्म मोनोरेल सञ्चालन गर्न यसबीचमा १४ वटा स्टेसनको प्रस्ताव गरिएको थियो ।

तिलगङ्गादेखि कलङ्कीसम्मको दूरी १० किलोमिटर छ । प्रतिवेदनमा गौशाला, एअरपोर्ट, सिनामङ्गल, तीनकुने, नयाँ बानेश्वर, त्रिपुरेश्वर, टेकु–१, टेकु–२, सोल्टीमोड, मिड कलङ्की, कलङ्की, शहीदगेट र थापाथली चोक स्टेसनको रूपमा प्रस्ताव गरिएको छ । प्रतिवेदनमा कम्पनीका १० किलोमिटर दूरीको लिक बनाउन ३० करोड अमेरिकी डलर र दुई वर्ष समय लाग्नसक्ने बताइएको छ । मेट्रो रेलभन्दा मोनोरेल सञ्चालनका लागि २० प्रतिशत रकम कम लाग्नसक्ने प्रतिवेदनमा उल्लेख छ । एउटा रेलमा दुई सयजना यात्रु अट्नसक्ने आठवटासम्म बोगी (डब्बा) जोड्न सकिने प्रतिवेदनमा उल्लेख छ ।

त्यसैगरी प्रतिवेदनमा मानोरेलका लागि अन्य पाँचवटा रुटको समेत प्रस्ताव गरिएको थियो । पहिलो रुटमा सातदोबाटो–लगनखेल–पुल्चोक–हरिहरभवन–त्रिपुरेश्वर–शहीदगेट–रत्नपार्क–नारायणहिटी दरबार–लाजिम्पाट–नारायणगोपाल चोक सम्मलाई प्रतिवेदनमा प्रस्ताव गरिएको छ । यस रुटको दूरी १२ दशमलव २ किलोमिटर छ । त्यसैगरी ११ दशमलव २ किलोमिटर लम्बाइ रहेको कीर्तिपुर–कलङ्की–रविभवन–कालीमाटी–त्रिपुरेश्वर–माइतीघर–नयाँ बानेश्वर–तीनकुने–एअरपोर्टसम्मलाई दोस्रो रुटको रूपमा प्रस्ताव गरिएको छ ।

तेस्रो रुटको रूपमा कोटेश्वर–तीनकुने–सिनामङ्गल–चाबहिल–धुम्बाराही–नारायणगोपाल चोक–तिलिङ्टार–गोँगबु–बालाजु–स्वयम्भू–सीतापाइला चोक–कलङ्की–बल्खु–धोबीघाट–एकान्तकुना–सातदोबाटो–ग्वार्को–कोटेश्वरको प्रस्ताव गरिएको छ । यस रुटको लम्बाइ २८ दशमलव ५३ किलोमिटर छ ।

त्यसैगरी स्वयम्भू–छाउनी–रत्नपार्क–बागबजार–डिल्लीबजार–पुरानो बानेश्वर–चाबहिल–बौद्धलाई चौथो रुटका रूपमा तथा धोबीघाट–पुल्चोक–पाटन दरबार–माइतीघर–सिंहदरबार–डिल्लीबजार–टङ्गाल–नारायणहिटी–नयाँ बजार–गोँगबुलाई पाँचौं रुटको रूपमा प्रस्ताव गरिएको छ । यस रुटको दूरी क्रमशः ११ दशमलव ७० र १३ दशमलव ८० किलोमिटर छ ।

राजधानीको ट्राफिक अस्तव्यस्तता हटाउन, सवारी दुर्घटनाको सङ्ख्या घटाउन, हरितगृह ग्यास उत्पादनमा कमी ल्याउन, ध्वनि प्रदूषण न्यून गर्न तथा हावाको शुद्धता बढाउन, पेट्रोलियम पदार्थको परनिर्भरता कम गर्न, समग्र उत्पादनमा वृद्धि ल्याउन मोनोरेलको आवश्यकता प्रतिवेदनमा आँैल्याइएको छ ।

यस विद्युतीय मनोरेलमा १० किमीसम्म ब्याट्री ब्याकअप रहेको छ । कुनै कारण विद्युत् आपूर्ति रोकिएको अवस्थामा पनि ब्याट्री ब्याकअपबाट यो रेल १० किलोमिटर गुड्न सक्छ । आधुनिक प्रविधिबाट बनाइएको यो मनोरेल चीनका विभिन्न सहरमा प्रयोगमा आइसकेको छ । एउटा डिब्बामा दुई सय जनासम्मले यात्रा गर्ने क्षमता भएको यो मनोरेल प्रतिघन्टा ३० देखि ८० किलोमिटरसम्म गुड्ने प्रतिवेदनमा जनाइएको छ । स्रोत गोरखापत्र