सांसदलाई साढे ६ अर्ब बाँड्ने तयारी

686
views

काठमाडौँ, १६, वैशाख । सांसद विकास कोषको रकम चरम दुरुपयोग भएको आलोचना आइरहेकै बेला सरकारले सांसद विकास कोषको नाममा फेरि प्रतिनिधिसभा र राष्ट्रियसभाका सदस्यमार्फत अर्बौ रुपैयाँ वितरण गर्ने तयारी थालेको छ । सरकारले सांसदलाई तजबिजीमा खर्च गर्न पाउने गरी ६ अर्ब ६२ करोड बाँड्ने तयारी गरेको हो ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय स्रोतका अनुसार सांसद विकास कोषको रकम अघिल्लो सांसदका लागि व्यवस्था भए पनि हाल संघीय संसद् स्थापना भई नयाँ सांसद आएकाले उक्त रकम नयाँ सांसदले नै विकास योजनामा खर्च गर्न पाउने गरी निर्णय गर्नुपर्ने प्रस्ताव मन्त्रिपरिष्दमा पठाइएको छ ।

मन्त्रिपरिषद्ले पुराना सांसदको साटो नयाँ सांसदले विकास आयोजनामा खर्च गर्न पाउने निर्णय गरे प्रत्यक्षबाट निर्वाचित १ सय ६५ जना सांसदले निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रमअन्तर्गत प्रतिसांसद ३÷३ करोडका दरले पाउनेछन् भने निर्वाचन क्षेत्र विशेष कार्यक्रमअन्तर्गत संघीय संसद्मा रहेका ३ सय ३४ सांसदले प्रतिसांसद ५०÷५० लाखका दरले पाउनेछन् ।

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले यो विषय छलफलकै क्रममा रहेको बताए । मन्त्री पण्डितले यस विषयमा केही गाँठो फुकाउनुपर्ने अवस्था रहे पनि छलफलकै क्रममा रहेकाले थप भन्न नमिल्ने बताए ।

संघीय संसद्को निर्वाचन भएर नयाँ सांसद आएपछि सरकारले सांसद विकास कोषको रकम के गर्ने भन्ने सम्बन्धमा कुनै निक्र्याेल नगर्दा रकम खर्च नभई त्यसै रहँदै आएको थियो तर अहिले आएर सरकारले हतार हतारमा संघीय संसद्का सांसदलाई विकास आयोजनामा खर्च गर्न पाउने गरी नयाँ निर्णय गर्दै सांसदलाई अर्बौं वितरण गर्ने तयारी गरेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ ।

विभिन्न अध्ययनले सांसदहरूले विकास कोषको खर्च आफ्नो क्षेत्रको समग्र विकास गर्नभन्दा पनि कार्यकर्ता पोस्न र व्यक्तिगत हितमै बढी खर्च गर्ने गरेकाले अर्बौं रुपैयाँ बालुवामा पानीसरह हुने गरेका छन् ।